धनकुटा : धनकुटा बजार क्षेत्रमा विद्युतको नाङ्गो तार हटाउन थालिएको छ । विद्युत् लाइन विस्तारका क्रममा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउन थालिएको हो ।

पहिलो चरणमा मंगलबार मदन चोकदेखि परिचय मोड सम्मको तार फेर्ने काम भइरहेको विद्युत् प्राधिकरण धनकुटाका प्रमुख प्रह्लाद पोखरेलले जानकारी दिए । उनका अनुसार एबीसी केवलमा एउटै लठ्ठा भित्र धेरै वटा तारहरू राखिएको हुन्छ र बाहिरी कभर हुनाले छुँदा करेन्ट लाग्दैन । तर, तार पुरानो हुँदै जाँदा कुनै कारणले बाहिरी कभर उक्किएको अवस्थामा करेन्ट लाग्न सक्ने भएकाले जथाभाबी नछुन उनको सुझाव छ ।

धनकुटा नगरपालिकाको कार्यालय, ७ नं. वडा कार्यालय र विद्युत् प्राधिकरणको समन्वयमा हुलाक टोल क्षेत्रमा तार फेर्ने काम भइरहेको छ । सडक क्षेत्रमा नगर प्रहरी खटाएर विद्युत् प्राधिकरणका कर्मचारीले तार फेर्ने काम गरिरहेका छन् ।

अब विद्युत् प्राधिकरणसँगको समन्वयमा क्रमिक रूपमा बजार क्षेत्रका सबै नाङ्गो तारहरू हटाइने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ बताउँछन् । ‘नाङ्गो तारमा करेन्ट लाग्ने जोखिम हुन्छ, बजार क्षेत्रमा हेर्दा पनि धेरै वटा तार गज्याङगुजुङ नराम्रो देखिने हुनाले एउटै लठ्ठा भएको एबीसी तार लगाउन थालिएको हो,’ नगर प्रमुख तामाङ भन्छन्, ‘पहिलो चरणमा हुलाक टोल क्षेत्रमा तार फेरिँदै छ, अब विद्युत् प्राधिकरणसँग समन्वय गरेर क्रमिक रूपमा बजार क्षेत्रका सबै नाङ्गो तार हटाउँछौँ ।’

सुरक्षित र हेर्दा पनि राम्रो देखिने हुनाले बजार क्षेत्रमा एबीसी केवल नै उपयुक्त देखिएको धनकुटा नगरपालिका–७ का वडाध्यक्ष रोशेष श्रेष्ठ बताउँछन् । यसअघि हिले बजार क्षेत्रमा पनि नाङ्गो तार हटाएर एबीसी केवल लगाइएको छ ।