काठमाडौं :  अफगानी युवा क्रिकेटर रसिद खानको अलराउण्डर प्रदर्शनको मद्दतमा सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग(आईपीएल)को फाइलनमा प्रवेश गरेको छ । आईपीएल अन्तरगत शुक्रबार भएको दोस्रो प्लेअफमा कोलकात्ता नाइटराइडर्सलाई १३ रनले हराँउदै हैदरावाद फाइलनमा पुग्न सफल भएको हो । 

कोलकत्ताको इडेन गार्डेनमा भएको खेलमा कोलकत्ताले टस जितेर पहिले बलिङ रोजेको थियो । टस हारी पहिले ब्याटिङमा उत्रेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो । १७५ रनको लक्ष्य पाइ जवाफी ब्याटिङमा उत्रेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १६१ रन मात्रै बनाउन सक्यो । 

हैदरावादको जितका लागि ब्याटिङ, बलिङ दुवैमा २० वर्षे अफगानी क्रिकेटर रसिद खानको योगदान महत्वपूर्ण रह्यो । आठौं नम्बरमा व्याटिङ गर्न आएका रसिदले १० बलमा ४ छक्का र २ चौकासहित ३५ रन बनाए भने बलिङमा ४ ओभरमा १९ रन मात्रै खर्चेर ३ विकेट लिन सफल भए । अन्तिम २ ओभरमा रसिदले मात्रै ३० रन जोडे।  

पहिले ब्याटिङ गरेको हैदरावादको ब्याटिङ सुरुवात  ठीकै भएपनि बीचमा निकै खराब रह्यो । हैदरावादका लागि रिद्धिमान साहले सर्वाधिक ३५ रन बनाए, शिखर धावनले र रसिद खानले ३४-३४, सकिब अल हसनले २८ रन बनाए । कोलकत्ताका लागि कुलदीप यादवले सर्वाधिक २ विकेट लिए । 

कोलकत्ताको सुरुवाती व्याटिङ निकै आक्रामक थियो । ६ ओभरको पावरप्लेमा १ विकेटको क्षतिमा ६७ रन बनाएर मजबुद अवस्थामा रहेको कोलकत्ताको ९ नौ ओभरमा तेस्रो विकेट गुमेपछि रन बनाउने गतिमा सुस्तता आएको थियो । 

कोलकत्ताका लागि क्रिस लिनले सर्वाधिक ४८ रन, सुभमान गिलले ३०, सुनिल नारिनले २६, नितिस रानाले २२ रन बनाए 
हैदरावादका लागि रसिद खानपछि ब्रेथवेट र सिदार्थ कोलले २-२ विकेट लिए । 

आईपीएलको उपाधिका लागि हैदरावादले यसअघि नै फाइलनमा पुगेको चेन्नइको सामना गर्नेछ । फाइलन खेल यही आइतबार मुम्बइमा हुँदैछ ।