सन् २०१५ मा पाकिस्तानबाट भारत फर्किएकी मुन्नी गर्ल अर्थात् गीता नामकी युवतीको परिवारको अझैसम्म पत्ता लागेको छैन । तर उनको बिहे हुनेवाला छ । भारतको केन्द्र सरकारले नै ती युवतीको बिहे गराइदिने प्रयास गरिरहेको छ ।

उनको बिहेका लागि एक गैरसरकारी संस्थाले फेसबुकमा बिहेको विज्ञापन नै प्रकाशित गर्यो । त्यसपछि गीतासँग विहे गर्न झण्डै ५० जना पुरुषहरुले इच्छा व्यक्त गरेका छन् 

विदेश मन्त्रालयले ती मध्ये २५ जना पुरुषलाई छनोट गर्दै ती युवकहरुलाई गीताको इच्छा बमोजिम भेटघाट गराउन जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । ती २५ मध्येबाट गीताले आफ्नो मनपर्ने जीवनसाथी छान्नेछिन् ।

ती २५ जना युवकको बायोडाटा र तस्वीर सुरुमा गीतालाई देखाइनेछ । त्यसपछि जो–जोसँग उनले प्रत्यक्ष भेट्न चाहन्छिन् उनीहरुसँग गीतालाई भेटाइनेछ ।

गीता बोल्न सक्दिनन् र उनले सुन्न पनि सक्दिनन् । तथापि, आफ्नो जीवनसाथी छान्ने फैसला गीता आफैंले गर्नेछिन् । स्मरणरहोस्, गीताका लागि २५ वर्षमाथिको उनीजस्तै शारीरिक अवस्था रहेको वरको खोजी गर्दै विज्ञापन गरिएको थियो ।

गीतालाई बिहे गर्न मन गर्दै दरखास्त हाल्नेमा मन्दिरका पुजारी तथा लेखकसमेत रहेका छन् ।

भारतको मध्यप्रदेश सरकारको सामाजिक न्याय तथा अशक्त कल्याण विभागको रेखदेखमा उनी इन्दोरस्थित एक अपांग संगठनको आवासीय परिसरमा गीता बस्दै आएकी छिन् । उनका मातापिताको खोजी भैरहेको छ ।