धरान :  इङ्ल्यान्डको लर्डसमा वेस्ट इन्डिजविरुद्ध हुन लागेको टीट्वेन्टी च्यारिटी खेलमा नेपालका सन्दीप लामिछानेसहित रहेको विश्व–११ को कप्तानी पाकिस्तानी खेलाडी साहिद अफ्रिदीले गर्ने भएका छन् ।  

यसअघि इङ्ल्यान्डका इयान मोर्गनले गर्ने भनिए पनि उनी घाइते भएपछि अफ्रिदीलाई कप्तानीको जिम्मेवारी दिइएको  हो । आसीसीले दिएको खबर अनुसार उनको सट्टा विश्व–११ टोलीमा  इङ्ल्याण्डकै विकेटकिपर व्याट्सम्यान साम बिलिङ्सलाई समावेश गरिएको छ ।  

गत साल आएको आँधीबाट क्याराबिन राष्ट्रहरुका भत्किएका क्रिकेट स्टेडियम निर्माणमा सहयोग जुटाउन आईसीसीले वेस्ट इन्डिज र विश्व–११ बीच लर्डस्मा खेल खेलाउन लागेको हो । 

साहिद अफ्रिदीको कप्तानीमा खेल्ने टोलीमा, साम बिलिङ्स, तमिम इकबाल, दिनेश कार्तिक, रासिद खान, मिचेल म्याक्लिघन, सोयव मल्लिक, हार्दिक पाण्डेय, थिसारा परेरा, लुक रोची, मोहमद सामी र सन्दीप लामिछाने छन् ।

कार्लोस ब्रेथवेटको कप्तानीमा मैदान उत्रने वेस्ट इन्डिज टोलीमा सामुयल बद्री, क्रिस गेल, इभिन लेविस, मार्लोन सामुयल्स र आन्द्रे रसेल, एस्ले नर्स, आन्द्रे फ्लेचर, किमो पाउल, रोभमन पावेल, दिनेश रामदिन र केस्किर विलियम्स छन् ।

सन्दीप इङ्ल्यान्डतर्फ 

वेस्ट इन्डिजविरुद्ध हुने च्यारिटी खेलमा सहभागी हुन युवा क्रिकेटर सन्दीप लामिछाने मंगलबार लन्डन प्रस्थान गरेका छन् । बिहीबार राति लर्डस्मा हुने एकमात्र टीट्वेन्टी खेलमा सन्दीपले विश्व–११ बाट प्रतिस्पर्धा गर्नेछन् ।

अन्नपुर्णपोष्ट.कम बाट सभार गरीएको