स्पेनिस क्लब रियल म्याड्रिडका व्यवस्थापक जिनेदिन जिदानले पदबाट राजीनामा दिएका छन्।

बिहिबार आकस्मिक पत्रकार सम्मेलन गरेर जिदानले राजीनामा घोषणा गरेका हुन्। रियल म्याड्रिडले च्याम्पियन्स लिगको उपाधि चुमेको साता दिन नबित्दै जिदानले राजीनामा दिएका हुन्।

जिदानकै व्यवस्थापनमा रियल म्याड्रिड च्याम्पियन्स लिगको उपाधिमा ह्याट्रिक गरेको थियो। यसअघि कुनै पनि क्लब लगातार दुई पटक पनि यो उपाधि जित्न सकेका थिएनन्।

यसपालिको घरेलु लिगमा भने रियलले राम्रो प्रदर्शन गर्न सकेको थिएन। खराब प्रदर्शनले चीरप्रतिद्वन्द्वी बार्सिलोनाभन्दा १७ अंकले पछि पारेर लिगमा दोस्रो स्थान पनि हासिल गर्न नसकेका जिदान यो सिजनमा एकदमै दबाबमा थिए।

लिगको लगभग आधा खेल बाँकी रहँदा नै रियलले उपाधि नजित्ने पक्का भएपछि च्याम्पियन्स लिगका हरेक चरण उनका लागि अन्तिम जस्तै थिए। सन् २०१६ जनवरीमा रियलको प्रशिक्षक बनेर आएका उनको सम्झौता २०२० सम्मका लागि थियो।

उनले रियलका लागि १ सय ४९ खेल सम्हाल्दै १ सय ५ मा जित दर्ता गर्न सफल रहे। ३ च्याम्पियन्स लिग साथै जिदान २०१६-१७ मा लिगको उपाधि पनि जित्न सफल भएका थिए ।