इङल्याण्ड – वेस्ट इन्डिजविरुद्धको मैत्रीपूर्ण ट्वेन्टी –२० क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका १७ वर्षीय लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व–११ पराजित गरेको छ।

आइसीसीको आयोजनामा गएराति इङल्याण्डको लर्डसमा भएको खेलमा वेस्ट इन्डिजले विश्व–११ लाई ७२ रनले पराजित गरेको हो।  जितका लागि वेष्ट इन्डिजले दिएको २ सय रनको लक्ष्य पछ्याएको विश्व–११ टिम १६.४ ओभरमा १२७ रनमै अलआउट भयो।

विश्व ११ का लागि श्रीलंकाका थिसरा परेराले सर्वाधिक ६१ रन जोडे। उनले ३७ बलमा ७ चौंका र ३ छक्का प्रहार गरे। त्यस्तै शोएब मलिकले १२, शहिद अफ्रिदले ११ र मिचेल म्याक्लीनाघानले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

नेपालका सन्दीप लामीछानेले ५ बलको सामना गर्दै ४ रनमा नटआउट रहे। विश्व–११ लाई सस्तैमा समेटन वेष्ट इन्डिजका केसरीक विलियम्सले ३, सामुएल बद्री र आन्द्रे रुसेलले दुई–दुई तथा किमो पाउल र कार्लोस ब्राथवेटले एक–एक विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन जोडेको थियो। उसका लागि एविन लेविसले २६ बलमा ५ चौंका र ५ छक्काको मदतमा ५८, दिनेश राम्दीनले अविजित ४४, मार्लोन स्यामुएल्सले अविजित ४३, आन्द्रे रुसेलले २१ र क्रिस गेलले १८ रन जोडे। 

बलिङतर्फ विश्व ११ का अफगानी बलर रसिद खानले २ तथा पाकिस्तानी शोएब मलिक र शहिद अफ्रिदले एक–एक विकेट लिएका थिए। नेपालका सन्दीपले भने १ ओभरमात्र बलिङ गर्दै १२ रन खर्चिए। उनले विकेट लिज भने सकेनन्। सन्दीपको एउटा बलमा मार्लोन स्यामुएल्सले छक्का प्रहार गरे भने अन्य बलले भने बाउन्ड्री पार गर्न सकेन्।

विश्व–११ लाई शहिद अफ्रिदी र वेष्ट इन्डिजलाई कार्लोस ब्राथवेटले नेतृत्व गरेका थिए।