इटहरी- १६ करोडभन्दा बढी रकम लिएर फरार भएका ज्वेलर्स सञ्चालकविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा धमाधम उजुरी पर्न थालेको छ। इटहरी-२० स्थित सिंहदेवी ज्वेलर्सका सञ्चाकल दीपक गजमेर हाल फरार छन्। आजै मात्र उनीविरुद्ध ४ सयभन्दा बढी पीडितले उजुरी दर्ता गराएका छन्। 

गजमेरले दैनिक बचतसमेत सञ्चालन गर्ने गरेको र धेरै ब्याज दिने भन्दै प्रलोभनमा पारेर रकम जम्मा गर्ने गरेको प्रहरीको भनाइ छ। 

केही समयअगाडि काठमाडौँबाट आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले इटहरीका धेरै सुन पसलमा छापा हान्यो। त्यस बेला उनी निर्धक्क बचत संकलन गरिरहेका थिए। इटहरीमा सञ्चालित सुन पसल र इन्भेस्टमेन्ट कम्पनीको अनुगमन गरेको सिआइबी टोलीले गजमेरको पसलमा भने केही फेला पार्न सकेन।

यसभन्दा अगाडि पनि इलाका प्रहरी कार्यालय इटहरीलाई बारम्बार जानकारी गराउँदा कुनै सुनुवाइ नभएको पीडित युवराज अधिकारीले बताए।

गजमेरले सबैभन्दा धेरै रकम जितेन्द्र पोख्रेलको लिएका छन्। उनीबाट गजमेरले ५८ लाख रुपैयाँ लिएका थिए।

त्यस्तै दैनिक बचत गर्नेहरुको न्यूनतम ३० हजारदेखि सापट भनेर लगेको ४० लाख रुपैयाँसम्म तिर्न बाँकी छ। इटहरी २० कै राजेन्द्र राईको १९ लाख रुपैयाँ गजमेरले सापटी भनेर चलाएका थिए। 

अहिलेसम्म आएको निवेदनको आधारमा कारबाही प्रक्रिया अगाडि बढाइने इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठले बताए। सुन पसलले दैनिक बचत गर्नु गैरकानुनी भएकाले यसलाई वित्तीय अपराध अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ।

फरार गजमेरको खोजीकार्य आजैबाट तीव्र पारिएको श्रेष्ठले बताए।

नेपाललाईभ.कमबाट साभार गरीएको