विराटनगर ।भाइब्रेन्ट ग्रोथ गरिरहेको पूर्वको इटहरीमा ८० करोड लगानीमा होटल खुल्ने भएको छ।होटल संचालकले फाइभ स्टार स्तरको होटल बनाइरहेको दाबी गरेका छन्।

फाइभ स्टार स्तरको अनुमति पाए प्रदेश नम्बर १ कै पहिलो होटल बन्नेछ।गरिमा नाम दिइएको यो होटल मंसिरमा संचालनमा आउनेछ।इटहरीका गोर्खा डिपार्टमेन्टका सञ्चालक बलराम आचार्य र युवा व्यवसायी विनोद पौडेलले ८० करोडको संयुक्त लगानीमा होटलकोनिर्माण गरिरहेका छन् ।
 
इटहरी नगरपालिका वडा नम्बर २ मा धरान रोडसित जोडिएको १ बिघा जमिनमा होटल निर्माणको कार्य भइरहेको छ ।
 
व्यवसायी पौडेलका अनुसार उपत्यकाबाहिर पाँच तारे होटलले पूरा गर्नुपर्ने सम्पूर्ण मापदण्डअनुसार होटलको निर्माण गरिएको छ । ‘उपत्यकाभित्र भए यो होटल चार तारेको मापदण्डमा पर्ने थियो’, पौडेलले भने, ‘तर उपत्यकाबाहिर भएकाले यसले पाँच तारेको स्वीकृति पाउने कुरामा हामी विश्वस्त छौँ ।’
 
विनोदले ७० हजार वर्गफिट जमिनमा १ लाख ७५ हजार वर्गफिटको संरचना तयार भइरहेको जानकारी दिए ।
 
होटलमा एक्ज्युकेटिभ रुम ८, सुइट रुम ६ र स्ट्यान्डर्ड रुम ६६ वटा हुने उनले बताए ।रुफ टप रेस्टुरेन्ट र भुईंतलामा क्याफेको निर्माण भइरहेको जनाए । मुख्य सडकसित जोडिएको होटल भएका कारणले सडक नजिक सेकुवा कर्नर छुट्टै तयार भइरहेको उल्लेख गरे ।
 
उनले निर्माणाधीन होटलमा ठूलाका लागि एक स्विमिङ पुल र बालबालिकाका लागि छुट्टै स्विमिङ पुलको तयारी भइरहेको जानकारी दिए । ‘इटहरी हर दृष्टिले प्रदेश नम्बर १ को केन्द्र भइरहेको छ’, उनले भने, ‘यहाँ व्यावसायिक यात्रुको सङ्ख्या प्रतिदिन बढिरहेको छ । उद्योग र व्यवसाय थपिने क्रम पनि जारी छ । नेपालको तराई क्षेत्रमा जनकपुर र नेपालगञ्जमा समेत स्तरीय होटल सञ्चालन भइसकेको सन्दर्भ छ । यस दृष्टिले इटहरीमा पनि स्तरीय होटलको निर्माण हुनु आवश्यक भइसकेको थियो । यो आवश्यकता हामी पूरा गर्ने छौँ ।’