धरान : नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रिय अध्यक्ष राजकुमार लेखीले वर्तमान सरकार आदिवासी जनजाति विरोधी भएको आरोप लगाएका छन् ।
कम्युनिष्ट सरकार बनेपछि आदिवासी जनजातिको पहिचानसँग सम्बन्धित मौलिक राष्ट्रिय पर्वहरुको विदा कटौति गरेको, राज्य असमावेशी हुदै गएको लेखीले बताए । तराईका जनताले माग गरिरहेको संविधान संशोधनप्रति ओली नेतृत्वको सरकार उदासिन रहेको र मुलुकी ऐन(संहिता)मार्फत आर्थिक सामाजिक, सांस्कृतिक, धार्मिक र भाषीक विभेदलाई सरकारले कायमै राखेको लेखीको दाबी थियो ।
आदिवासी जनजाति सरोकार समाज, सुनसरीले मंगलबार धरानमा आयोजना गरेको आदिवासी जनजातिको सवाल र वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा लेखीको यस्तो धारणा आएको हो । थारु कल्याणकारी सभाका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका उनले आदिवासी जनजाति महासंघको आन्दोलन जारी रहेको र आगामी कार्तिकवाट थारुहरुले वडा र गाउँ केन्द्रीत आन्दोलन गर्ने पनि बताए । उक्त आन्दोलनको क्रममा गिरफ्तारी दिएर जेल भराऊ कार्यक्रम शुरु गर्ने लेखीको भनाई थियो ।
आदिवासी जनजाति सरोकार समाज, सुनसरीका अध्यक्ष सुजेन्द्र तामाङले सुनसरीमा रहेका आदिवासी जनजाति अगुवाहरु, आम आदिवासी जनजाति जनताहरु र आदिवासी जनजातिजन्य संघसंस्थाहरुलाई विभिन्न माध्यमबाट सशक्तिकरण, सवल, सक्षम र गतिशिल बनाउन प्रयास भइरहेको बताए । यस्तै, आदिवासी जनजातिका विभिन्न संघसंस्थाहरुलाई सहयोग र सहजीकरण गर्ने उद्देश्यले समाज गठन भएको उनले बताए ।
नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय सचिव ध्यानी उरांवले आदिवासी जनजातिहरु एकजुट भएर आन्दोलन गर्नुको विकल्प नरहेको बताए । महासंघका १ नं. प्रदेश संयोजक ध्रुव सुब्बाले महासंघ समन्वयकारी संगठन भएकाले सबै जातिय संस्थाहरुलाई समन्वय गर्दै अघि बढिरहेको बताए । महासंघका पूर्व सुनसरी अध्यक्ष खम्वासिंह गुरुङ, पूर्व सुनसरी उपाध्यक्ष तेजप्रसाद चौधरी, पूर्व सुनसरी सचिव शुभचन्द्र राई, किरांत याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य विजय लुङ्फुवा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका सुनसरी अध्यक्ष संगीता सुब्बाले पनि मन्तव्य राखेका थिए ।

40797633_330903410979783_1446514967766368256_n