धरान: महिला उद्यमीहरुको घरेलु तथा हस्तकलाको उत्पादनहरु प्रर्वद्धन गर्दै तीन दिने महिला उद्यमी मेला मंगलबार सम्पन्न भएको छ ।
महिला सञ्जाल धरानले आर्थिक समृद्धिको लागि भन्ने नारा दिएर भाद्र १७ देखि १९ गतेसम्म उद्यमी मेला आयोजना गरेको थियो । मेलामा धरान, इटहरी, विराटचोक र विराटनगरबाटसमेत गरी २० वटा स्टल राखिएको थियो । उद्यम गरिरहेका महिलाहरु तथा विभिन्न महिला समुहहरुले उत्पादन गरेको सामाग्रीहरुको प्रर्दशनी तथा बिक्रीमा राखिएको थियो । मेलामा ठुलो कारोबार हुन नसकेपनि महिला उद्यमीहरुको उत्पादन प्रर्वद्धन भएको र महिला उद्यमीहरुलाई प्रेरणा मिलेको आयोजक संस्थाकी अध्यक्ष सविता राईले बताइन् । ‘महिलाहरुको उत्पादन प्रर्वद्धन गर्नसक्यौं, महिलाहरु उद्यमशील पनि भइरहेका छन्, अवसरको खाँचो छ भन्ने सन्देश दियौं,’अध्यक्ष राईले भनिन्,‘तिजको अवसरमा भड्किलो पारामा होइन, सृर्जनात्मकढंगले चाडपर्व मनाउनुपर्छ भनेर पनि मेला आयोजना गरिएको थियो ।’
समापन समारोहमा प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले मेलाले उद्यमी महिलाहरुलाई हौसला मिलेको धारणा व्यक्त गरिन् । साथै, उनले महिलाहरुलाई उत्पादनमा जोड्न तथा उद्यमशील बनाउन यस्ता मेलाहरुले भुमिका खेल्ने भन्दै नियमितरुपमा कार्यक्रम गर्न आग्रह पनि गरिन् । ‘स्थानीय सरकारले पनि महिलाहरुको उत्पादनलाई प्रोत्साहन गर्न र सधै बिक्री गर्ने थलो बनाउन कोसेली घर बनाउनुपर्छ भन्ने सोच गरेको छ, यसको लागि महिला सञ्जाललगायत अन्य संस्थाहरुसँग पनि सहकार्य गर्नेछौं,’कार्यवाहक प्रमुख भण्डारीले भनिन् ।

inside 2


नेकपाका नेता मुरारी सुवेदी, पुर्वमाओवादी केन्द्रका नेता सन्तोष लिम्बु, पुर्वएमालेका कार्यवाहक अध्यक्ष नारायण सुवेदीले पनि समापन समारोहमा मन्तव्य राख्दै महिलाहरु उद्यमशील भएर आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्ने धारणा राखे । आयोजक संस्था महिला सञ्जालकी वरिष्ठ उपाध्यक्ष चेतना श्रेङले महिलाहरुलाई पुँजी अभाव, उत्पादनको बजारीकरण, कच्च पदार्थको अभावजस्ता विभिन्न समस्याहरु भएको बताइन् । यद्यपी उनले उद्यमी मेलाले घरेलु तथा हस्तकलाका उत्पादनहरुको मार्केटिङ हुन सकेको भन्दै खुशी व्यक्त गरे ।