पथरी : खेल मैदानको अभाव र स्थानीय सरकारको असहयोगका कारण मोरङको पथरी शनिश्चरेमा क्रिकेट खेलको विकास हुन सकेको छैन ।
पथरीशनिश्चरेमा क्रिकेट खेलप्रतिको आर्कषण बढ्दो रहेपनि स्थानीय सरकारले क्रिकेट खेलमा लगानी नगर्दा खेलाडी उत्पादन हुन नसकेको र क्रिकेट खेलको विकास पनि हुन नसकेको सरोकारवालाहरु बताउछन् । सुविधायुक्त खेल मैदानसमेत नहुदा यहाँ आयोजना हुने विभिन्न प्रतियोगिताहरु स्तरीय बन्न नसकेको उनीहरुको गुनासो छ ।

"पुर्वाधार अभाव झेलिरहेको भएपनि प्रतियोगितामा स्थानीय खेलाडी र दर्शकको उपस्थितीले खेलप्रतिको आकर्षण भने उत्साहजनक रहेको छ"

विगत ८ वर्षदेखि पुर्वक्षेत्रकै परिचित विरेन्द्रनगर च्यालेन्ज कप प्रतियोगिताको आयोजक विरेन्द्रनगर क्रिकेट क्लवका अध्यक्ष राजेश कुइकेल राम्रो खेल मैदान नभएको कारण सोचे जस्ता खेलाडी र टिमहरु प्रतियोगितामा सहभागी हुन नसकेको बताउछन् । कुइकेल भन्छन्,‘पथरीमा भने जस्तो क्रिकेट मैदान नै छैन, टेनिस वलमा प्रतियोगिताको खेल खेलाउनु पर्ने अवस्था छ । राष्ट्रियस्तरमा चर्चित खेलाडीहरु प्रतियोगितामा सहभागी हुन सकेका छैनन ।’
पुर्वाधार अभाव झेलिरहेको भएपनि प्रतियोगितामा स्थानीय खेलाडी र दर्शकको उपस्थितीले खेलप्रतिको आकर्षण भने उत्साहजनक रहेको छ । रत्न युथ क्लवका उपाध्यक्ष राकेश राईका अनुसार स्थानीय जनप्रतिनिधी आएसँगै खेल विकासका लागी सहयोग हुने आशा राखेपनि पुरा हुन सकेको छैन । उनी भन्छन्,‘नयाँ खेलाडी उत्पादन गर्न पनि खेल मैदान चाहिन्छ, तर क्रिकेट मैदान निर्माणमा कतैबाट पहल भएको छैन ।’ उनी पथरीमा खेलाडीलाई अभ्यासको लागि पनि एउटा क्रिकेट रंगाशाला वनाउनु पर्ने आवश्यकता रहेको बताउछन् ।
पथरीशनिश्चरे नगरपालिका खेलकुद विकाश समितीका अध्यक्ष मनि लुम्फुवाका अनुसार खेल विकासको लागि नगरपालिकासँगको समन्वयमा आवश्यक पहल थालेको छ । ‘क्रिकेट विकासका लागी सबैतर्फबाट लाग्नु पर्छ, नगरपालिकाले क्रिकेट मैदान र स्तरीय रंगशाला निर्माण गर्न पहल थालेको छ’ लम्फुवाले भने ।
पथरी शनिश्चरे क्षेत्रमा १ नम्बर प्रदेशस्तरीय २ वटा र अन्य स्थानीयस्तरको क्रिकेट प्रतियोगिता आयोजना हुदै आएको छ । सबै प्रकारका प्रतियोगिता खेल मैदानको अभावमा फुटवल मैदानमा आयोजना हुदै आएको छ । जनता माविको मैदानमा हुने विरेन्द्रनगर च्यालेन्ज कपमा राष्ट्रिय टोलीबाट खेल खेलिसकेका मेहवुव आलम, सिद्धान्त लोहनी, ललित नारायण राजवंशीलगायतले पनि सहभागिता जनाइसकेका छन् भने १ नम्वर प्रदेशबाट खेलिरहेका क्रिकेटरहरुको सहभागिता रहने गरेको छ ।
नयाँ खेलाडी उत्पादन गर्न एकेडमी नै संन्चालन गर्ने भनेर केही समयअघि स्थापना भएको पथरीशनिश्चरे क्रिकेट क्लवले प्रदेश नम्वर १ स्तरीय प्रतियोगिता सञ्चालन गरिरहेको छ । यद्यपी, नयाँ खेलाडी उत्पादन गर्नको लागि एकेडमी सञ्चालन गर्न आवश्यक बजेट भएकोले तत्काल काम अघि बढाउन नसकिएको क्लवका अध्यक्ष अरुण राईले बताए । स्थानीय सरकार र यहाँका व्यापारिक संस्थाले क्रिकेट खेललाई महत्व नदिदा खेलको विकास हुन नसकेको पनि सरोकारवालाहरुको गुनासो छ । क्रिकेट प्रतियोगिता गरेर यो क्षेत्रको पहिचान बनाउन गरिएको प्रयासमा उनीहरुको सहयोग कम हुने गरेको सरोकारवालाहरु बताउछन् । स्तरिय क्रिकेट मैदान निर्माण गर्न सक पथरीशनिश्चरेलाइ क्रिकेट ‘हव’का रुपमा विकाश गर्न सकिने निश्चित छ ।