धरान:भलिबल र फुटबलको समिश्रण भएको खेल सेपार्क ताक्रोको प्रशिक्षण धरान १८ स्थित डिपोट उच्चमाविको मैदानमा भइरहेको छ ।
धरान उपमहानगरपालिका अन्तर्गतको नगर खेलकुद विकास समितिको सहयोग र सुनसरी सेपार्क ताक्रो संघको आयोजनामा भदौ १८ गतेदेखि विद्यार्थीहरुलाई लक्षित गरेर प्रशिक्षण भएको हो । प्रशिक्षणमा विद्यार्थी र शिक्षकसमेत गरी ५० भन्दा बढी सहभागी छन् । बिहान ७ बजेदेखि साढे ८ बजेसम्म प्रशिक्षण भइरेको छ । प्रशिक्षण आगामी शनिबारसम्म जारी रहने संघका अध्यक्ष एवं सिंगापुर गोर्खा पुलिसका अवकाशप्राप्त ए.एस.पी. विरेन्द्रबिक्रम लिम्बुले जानकारी दिए । उनका अनुसार प्रशिक्षण शुक्रबारसम्म मात्र हुने भनिएपनि विद्यार्थीहरुको लगाव र सिक्ने चाहनालाई ध्यान दिदै आगामी शनिबारसम्म प्रशिक्षण दिइनेछ ।
सेपार्क ताक्रो खेल नेपालमा करिब ६ बर्र्षअघि भित्रिएको हो । राष्ट्रिय खेलकुद परिषदले गत बर्ष पुर्वाञ्चलमा आयोजना भएको सातौं राष्ट्रिय खेलकुदमा यो खेललाई पनि समेटेको थियो । त्यसबेला सेपार्क ताक्रोको प्रतियोगिता धरानको डिपोट उच्चमाविको कोर्टमा नै भएको थियो । यो खेललाई एसियन खेलकुद र ओलम्पिकमा समावेश गरिएको हुनाले खेलाडीहरुमा यो खेलप्रति आकर्षण बढ्दो छ । ‘अन्र्तराष्ट्रियस्तरमा यो खेलको राम्रो स्कोप छ, त्यसैले खेलाडीहरुमा आकर्षण छ,’अध्यक्ष लिम्बूले भने,‘सानो एरियामा खेल्न सकिने, खर्च पनि कम लाग्ने र खेलाडी पनि थोरै हुनाले यो खेल खेल्न सहज छ ।’
सेपार्क ताक्रो खेल्न एउटा सानो बिशेष प्रकारको बल हुन्छ । उक्त बललाई फुटबलमा जस्तो हातले बाहेक शरीरको जुनसुकै अंगले पनि छोएर वा प्रहार गर्न सकिन्छ । तर, भलिवलमा जस्तो ३ पटकमा विपक्षीको कोर्टमा कटाउनुपर्छ । यो खेल ब्याण्डमिन्टन कोर्टमा ब्याडमिन्टनकै नेट लगाएर खेलिन्छ । एउटा टिमको जम्मा ५ जना खेलाडी हुन्छ । ती मध्ये ३ जना खेलाडी खेल्छन् भने २ जना वैकल्पिक खेलाडी हुन्छ । नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले प्रशिक्षणको लागि ५० हजार विनियोजन गरिदिएको जानकारी दिए । उनका अनुसार आगामी मेयर कप मिनि स्कुल ओलम्पिकमा सेपार्क ताक्रो खेल पनि समावेश गरिएको हुनाले खेलाडी उत्पादन गर्न विभिन्न स्कुुलका विद्यार्थीहरुलाई प्रशिक्षण दिएको हो । धरानका विभिन्न स्कुलमा सोपार्क ताक्रो खेल्न मिल्ने गरी पुर्वाधार पनि बनाइएको र अब स्कुलहरुमा प्रशिक्षक पठाएर प्रशिक्षण दिइने उनले बताए ।

तस्बिर:डिपोट उच्चमाविको कोर्टमा प्रशिक्षण लिइरहेका विद्यार्थीहरु ।

aIMG_20180907_083323 copy aIMG_20180907_082954 copy aIMG_20180907_083046 copy aIMG_20180907_084026 copy aIMG_20180907_083918 copy aIMG_20180907_083350 copy aIMG_20180907_084449_1 copy