धरान : विभिन्न जातीय तथा भाषिक समुदायको भाषा, साहित्यको संरक्षण र प्रोत्साहन गर्ने उद्देश्यले धरानमा भदौ २४ गते आइतबार बहुभाषिक कविता गोष्ठी हुदैछ ।
धरान उपमहानगरपालिकाअन्र्तगतको धरान प्रज्ञा प्रतिष्ठानले एक दिने बहुभाषिक गोष्ठी आयोजना गर्न लागेको हो । गोष्ठी आइतबार बिहान ११ बजेदेखि धरान ९ स्थित होटल रत्न इनमा हुने आयोजकले जनाएको छ । धरानस्तरीय गोष्ठीमा करिब ३० जना कवि एवं कवयित्रीहरु सहभागी हुने आयोजक प्रतिष्ठानका सदस्य एवं रंगकर्मी गोपाल देवानले जानकारी दिए । उनका अनुसार विभिन्न जातीय तथा भाषिक समुदाय, संगठनहरुसँग समन्वय गरेर गोष्ठी आयोजना हुन लागेको हो । स्रष्टाले गोष्ठीमा पहिला खस नेपाली भाषामा र आफ्नो मातृभाषामा कविता वाचन गर्नुपर्ने हुन्छ । ‘कार्यक्रममा सहभागी अन्य स्रोता, पाठकहरुले पनि कविता बुझ्न सहज होस भनेर दुवै भाषामा कविता वाचन गर्न पाउने नियम छ,’पत्रकारसमेत रहेका देवानले भने ।
गोष्ठीमा नेवार, राई जातिभित्रका विभिन्न भाषिक समुदायहरु, याम्फु, वान्तवा, कुलुङ, वाम्बुले, तामाङ, याक्खा, मेवाहाङ, सुनुवार, शेर्पालगायत विविध भाषा भाषीको कविता वाचन हुने आयोजक प्रतिष्ठानले जनाएको छ । गोष्ठीमा वरिष्ठ कवि एवं साहित्यकार वम देवान, वरिष्ठ पत्रकार एवं कवि हर्ष सुब्बा, साहित्यकार एवं पत्रकार प्रदिप मेन्याङबो निर्णायक रहनेछन् ।
गोष्ठीका संयोजकसमेत रहेका प्रतिष्ठानका संयोजक अम्बिका सम्बाहाम्फेले वाचन गरिएका कविताहरुमध्ये उत्कृष्ट ५ छनौट गर्ने जानकारी दिए । ती उत्कृष्ट ५ लाई पुरस्कार स्वरुप ट्रफी र प्रमाणपत्र पनि दिइने उनले बताए । ‘कुनै पनि जाति वा व्यक्तिको पहिचान भनेको उसको भाषा हो । नेपाल बहुभाषिक मुलुक भएर पनि विभिन्न जनजाति, भाषिक समुदायको भाषा मरेतुल्य छ । साहित्य लेखन ज्यादै न्युन छ,’संयोजक सम्बाहाम्फेले भने,‘कुनै पनि मुलुक समृद्ध हुनलाई त्यहाँको विभिन्न भाषा, साहित्य पनि समृद्ध हुनुपर्छ । त्यसको लागि साहित्य लेखिनुपर्छ ।’ बहुभाषिक गोष्ठी पनि जाती एवं भाषिक समुदायको साहित्य लेख्न उत्प्रेरणा जगाउन र संरक्षण, विकास गर्न आयोजना गरिएको उनले बताए ।