धरान: उफ्, कस्तो फोहोर ! बिहानै धरानको भानुचोकदेखि उत्तर छाताचोकतिर ‘मर्निङ वक’जादा सबैले यस्तै भन्ने गर्थे । नभनुन् पनि किन ? स्वस्थ रहन मर्निङ वाकमा निस्केका धरानेहरुलाई फोहोरको डंगुरले स्वागत गथ्र्यो ।
मुख्य बजार क्षेत्रको सडकमा फोहोरको थुप्रो र दुर्गन्धले विहानको स्वच्छ हावालाई पनि प्रदुषित बनाइदिएको हुन्थ्यो । उपमहानगरपालिकाका सफाई कर्मचारीहरुले त्यो फोहोरको डंगुरलाई बिहान ७, ८ बजेतिर मात्र उठाउदै गरेका हुन्थे । तर, अहिले अवस्था फेरिएको छ । बिहानै धरानेहरुले फोहोरको थुप्रो र दुर्गन्ध भोग्नु परेको छैन । मुख्य बजार क्षेत्रको सडक पनि बिहानै चिटिक्क देखिन्छ । यसको मुख्य कारण उपमहानगरपालिकाले हिजोआज राती नै फोहोर उठाउन थालेर हो । भदौ १ गतेदेखि मुख्य बजार क्षेत्रबाट सफाई कर्मचारीहरुले राती नै फोहोर उठाउने नयाँ नियम लागु गरेको छ ।
मुख्य बजार क्षेत्रमा बिहानै फोहोर थुप्रिएको देख्दा पर्यटकहरुमा पनि नराम्रो सन्देश गएको भन्दै उपमहानगरपालिकाले राती नै फोहोरको व्यावस्थापन गर्न थालेको हो । पहिला बजार क्षेत्रका घरधनी र व्यापारीहरुले मध्यरातमा फोहोर आफ्नो घर, पसल अघि थुपारिदिन्थे । बिहान उज्यालो हुँदासम्म त्यसलाई छाडा कुकुरहरुले छरपष्ट पारिदिएको हुन्थ्यो । जसले धरानको सुन्दरतालाई नै कुरुप बनाइदिन्थ्यो । त्यसैले उपमहानगरले पर्चा, माइकिङ गरेर स्थानीय घरधनी, व्यावसायीहरुलाई राती नै आफ्नो घर, पसलको फोहोर निकाल्न अनुरोध गरेको थियो । ‘बिहान स्वच्छ हावा पाउनुपर्नेमा नाक थुनेर हिड्नुपर्ने अवस्था थियो । यसको अन्त्य गरेर धरानलाई सफा, सुन्दर बनाउने अभियान स्वरुप मुख्य बजार क्षेत्रको सडकमा राती नै फोहोर उठाउन शुरु गरेका हौं,’कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले भनिन् ।
उपमहानगरको यो कामको सबैबाट प्रसंशा भइरहे पनि केही घरबेटी र व्यावसायीहरुको भने अझै असहयोग गरीरहेको छ । यसको मुख्य कारण अन्धविश्वास हो । नेपाली समाजमा साँझ, राती फोहोर घरबाट निकाल्नु हुन्न भन्ने अन्धविश्वास रहेको छ । त्यस्तालाई सचेत गराउने र अटेर गरिरहे जरीवाना तिराउने कार्यवाहक प्रमुख भण्डारीले बताइन् । उपमहानगरपालिकाका अनुसार सफाई कर्मचारीहरुले राती करिब ८ बजेपछि फोहोर संकलनको काम शुरु गर्छन् । कोशी राजमार्ग अन्र्तगतको धरान १ लक्ष्मी चोकदेखि धरान ८, भोटेपुल(हिमालयन पेट्रोल पम्म)सम्म राती नै फोहोर उठ्छ । यस्तै, भानुचोकदेखि पुर्व देशीलाइन हुदै माछाभौडी केही पुर्वसम्म, भानुचोक पश्चिम पुतलीलाइन हुदै भगवती मन्दिरसम्म पनि राती नै फोहोर सफाई मजदुरहरुले उठाउछन् ।
यसैगरी, उपमहानगरपालिकाको गेटदेखि छाताचोक हुदै सिंहदेवी चोकसम्म, सिंहदेवी चोकदेखि पुरानो बजार हुदै उद्योग वाणिज्य संघ कार्यालय हुदै लक्ष्मीचोकसम्म पनि फोहोर राती नै उठाउने गरिएको वातावरण महाशाखा प्रमुख भेषराज घिमिरेले जानकारी दिए । उनका अनुसार अन्य वडा एवं ठाउँहरुमा अरु बेलाको तालिका अनुसार नै कुनै क्षेत्रमा दैनिक र कतै साप्ताहिकरुपमा नियमित फोहोर उठाइन्छ । ‘आजको फोहोर किन भोलीपल्ट उठाउने ? आजै उठाएर धरानलाई सफा राखौं भनेर नयाँ शुरुवात गरिएको हो,’उनले भने । यसअघि, धरानलाई सुन्दर बनाउने भन्दै भानुचोकदेखि छाताचोकसम्म नयाँ रेलिङ र त्यसमा प्लाष्टिकको गमला राखेर फुल रोपिएको थियो । फोहोरको थुप्रो नहटाई गमलामा फुल राखेको भन्दै त्यसबेला जनप्रतिनिधिहरुको आलोचना पनि भएको थियो ।

तस्बिर : फोहोर राती नै उठाउदै गरेका सफाई मजदुरहरु ।

 

cover 2

र, फोहोर उठाइसकेपछि सफा देखिएको भानुचोक मास्तिरको सडक खण्ड ।

2 3