धरान : धरानलाई मिनि ब्राजिल भनिन्छ । यसको कारण हो, यहाँको युवाहरुमा फुटबल क्रेज असाध्यै छ । टोल टोलमा हुने विभिन्न प्रतियोगिताहरुले फुटबल खेलाडीहरु जन्माइरहेको हुन्छ । तर, धरानमा फुटबल मात्र लोकप्रिय भने होइन ।
धरानमा बास्केटवल खेल पनि उतिकै लोकप्रिय छ । यहाँका युवा तथा विद्यार्थीहरु बास्केटवल खेल्न रुचाउँछन् । उनीहरुको रुचि देखेर नै अचेल स्कुल, कलेजहरुमा विद्यार्थीहरुलाई आकर्षित गर्न बास्केटवल कोर्ट निर्माण गरिएको छ । ‘विद्यार्थीमा बास्केटवल लोकप्रिय छ, त्यसैले विद्यार्थीहरुलाई आकर्षित गर्न पनि निजी स्कुल, कलेजहरुले कोर्ट बनाएका छन्,’बास्केवटलका प्रशिक्षक विकास चाम्लिङ राई भन्छन्,‘सामुदायस्तरमा पनि धरानमा थुप्रै बास्टेकवल कोर्टहरु छ, यो खेलको लोकप्रियता यसले नै देखाउछ ।’
धरानको डिपोट उच्चमाविको बास्टेवल कोर्ट अन्र्तराष्ट्रिय मापदण्डको बनेको छ । यहाँ गएको सातौं राष्ट्रिय खेलकुदअन्र्तगत बास्केटवल प्रतियोगिता पनि आयोजना गरिएको थियो । राती पनि खेल्न मिल्ने लाइटको ब्यवस्था गरिएको छ भने फाइवरको बोर्ट राखिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान १७ क्षितिज टोलस्थित निम्न मावि, सप्तरंगी पार्क, धरान ८ स्थित यलम्बर खेल मैदान, धरान १९ स्थित हरियाली सामुदायिक वन समुहमा पनि बास्केटवल कोर्ट छ । यस्तै, धरान १५ स्थित बाँझगरा, केन्द्रीय प्रविधि क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पसमा पनि बास्केटवल कोर्ट छ भने धरान नगर खेलकुद विकास समितिले धरानका विभिन्न सामुदायिक विद्यालयहरुमा बास्केटवल पनि खेल्न सकिने गरि खेल पुर्वाधार निर्माण गरिरहेको छ । यहाँका हरेकजसो निजी विद्यालय र कलेजहरुमा त बास्केटवल कोर्ट अनिवार्य जस्तै भएको छ ।
.....................................................
धरानबाटै बास्केटवलको शुरुवात
नेपाली खेलकुदमा काठमाण्डौं उपत्यकाको दबदबा भइरहदा बास्केटवलमा भने काठमाण्डौंलाई धरानले सधै चुनौती दिइरह्यो । एक दशकअघि(२०६४ मा) यु–१७ सेन्ट जेभियर अन्र्तराष्ट्रिय बास्केटवल प्रतियोगितामा सुनसरी जिल्लाको प्रतिनिधित्व गर्दै गएको धरानको डिपोट स्कुल च्याम्पियन बनेको थियो । त्यसको २ बर्षपछि यु १९ कलेजस्तरीय प्रतियोगितामा पनि फाइनल पुगेको डिपोट उपाधि उचाल्नबाट भने बञ्चित भयो ।
बास्केटवलमा मोफसल(धरान)ले राजधानीलाई चुनौती दिनुमा आफैमा रोचक लाग्छ । किनभने, राजधानीको सुविधा सम्पन्न स्कुल र कलेजहरुले खेलमा पनि राम्रो लगानी गरेका हुन्छन् । यद्यपी, नेपालमा बास्केटवलको चर्चा गर्दा बास्केटवल र धरानको इतिहासलाई पनि गहिरिएर हेर्नुपर्छ । धरान र बास्केवटलको सम्बन्ध ६ दशक पुरानो भएको जानकारहरु बताउँछन् । बास्टेवलका अगुवाहरु नेपालमा बास्केवटल खेलको शुरुवात धरानबाटै भएको दाबी गर्छन् । यो कुरा तथ्यको नजिक पनि छ । ‘धरानमा २०१० सालमा नेपाली युवाहरु भर्ती लिन ब्रिटिश घोपा क्याम्प स्थापना भएको हो, त्यसबेला नै गोराहरु मनोरञ्जन र फिटनेशको लागि घोपा क्याम्पमा बास्केटवल खेल्थे । त्यसैले नेपालमा यहीबाट यो खेलको शुरुवात भएको भनिएको हो,’नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा भन्छन्,‘गोराहरुले भर्ती लाग्ने युवाहरुलाई एक घण्टासम्म ट्रेनिङ गराउथे, त्यसैको प्रभावमा कलेज, समुदायस्तरमा पनि कोर्टहरु धमाधम बन्न थाल्यो ।’
ब्रिटिश लाहुरेबाट पेन्सन पकाएका भूपूहरुले समाजमा कोर्ट बनाइदिएर बास्केटवल खेललाई सबैको पहुँचमा पु¥याइदिए थिए । त्यसपछि त फिटनेसको लागि बास्केटवल खेल्नेहरुको संख्या बढ्दै गयो । धरानमा क्लब बनाएर बास्केवटल खेल्ने चलन शुरु भयो । चालिसको दशकमा यहाँ बास्केटवल कतिसम्म लोकप्रिय थियो भने धरान १७ को निम्न माविमा वडास्तरीय बास्केटवल प्रतियोगिता नै आयोजना हुन्थ्यो । ‘त्यो बेला नेपालमा बास्केटवल संघ नै थिएन । काठमाण्डांैमा पनि धरानबाट उच्च शिक्षा पढ्न गएकाहरुले खेल्थे,’जिल्ला बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले भने,‘धरानमा त वडास्तरीय प्रतियोगिता हुन्थ्यो, खेल हेर्न दर्शकहरुको घुइचो लाग्थ्यो ।’
चालिसको दशक धरानको बास्केटवलको लागि स्वर्णिम काल थियो । त्यस समय विनोद श्रेष्ठ, प्रभात श्रेष्ठ, सुजन श्रेष्ठ, कुवेर श्रेष्ठ, कृष्ण राई, सुरज लामा, सुनिल शंकर, शंकरमान श्रेष्ठ, निर्मल श्रेष्ठलगायत खेलाडीहरु बास्केटवलमा जमेका थिए । उनीहरु नै प्रतियोगिता खेल्ने धरानका पहिलो ब्याच हुन् । ०४५ सालमा राजाको जन्मोत्सवमा आधारिक पहिलो प्रतियोगिता आयोजना भएको थियो । ०५० को शुरुवाती समयमा धरानको बास्केटवल शिथिल हुन पुग्यो । तर, ०५८ सालमा धरान बास्केटवल संघ गठन भएपछि बास्केटवल खेल पनि जुर्मुराउन थालेको हो । राष्ट्रिय खेलकुद परिषदमा पुर्वाञ्चलका एक मात्र सहप्रशिक्षक धरानकै विकास चाम्लिङ हुन् भने राष्ट्रिय टोलीमा धरानका सुदन थापा र यु १८ मा रवि बास्फोर परेका थिए । अचेल धरानमा स्कुल, कलेज र क्लबस्तरीय थुप्रै प्रतियोगिताहरु आयोजना हुन्छ । प्रशिक्षक चाम्लिङ भन्छन्,‘धरानमा बास्केटवलको माहोल छ । धेरै क्षमतावान्, प्रतिभावान खेलाडीहरु जन्मिएका छन् ।’

तस्बिर क्याप्सन : धरान १८ स्थित डिपोट उच्चमाविको कोर्टमा बास्केटवल प्रशिक्षण लिदै विद्यार्थीहरु ।

abasketball camp abasketball 6 aIMG_3236 abasketball camp1 abasketball 4 abasketball 7 basketball 4 basketball 6 basketball