बीबीसी । उत्तर कोरियाली शाषक किम जोङले शनिबार राष्ट्रपति ट्रम्पलाई पठाएको आधिकारिक पत्रबारे खुलासा गर्दै ह्वाइटहाउसले उक्त चिठीमा न्यानो भाव समेटिएको उल्लेख गरेको छ । प्रवक्ता सेराह स्यान्डर्सले मंगलबारको पत्रकार सम्मेलनमा बोल्दै किमले दुवै पक्षबीचको सकारात्मक सम्बन्ध कायम राख्न ट्रम्प समक्ष अर्को ऐतिहासिक भेटवार्ताको प्रस्ताव राखेको बताएकी हुन् । त्यसैले सो पत्रबाट पनि प्योङयोङ निशस्त्रीकरणको मुद्दामा ज्यादै गम्भीर र अझै प्रतिबद्ध रहेको स्पष्ट भएको उनको भनाइ छ ।
पछिल्लो समय यस विषयमा उत्तर कोरियाली र अमेरिकी अधिकारीहरु बीच विवाद भइरहेको खबर बाहिर आएपछि सिंगापूर बैठकको सम्झौता रद्द हुन सक्नेमा चिन्ता व्यक्त गरिएको थियो । तर यी सबै खबरलाई गलत ठहर गर्दै किमले ट्रम्पलाई अर्को भेटवर्ताका लागि निम्ता गरेका हुन् । किमको यस्तो प्रस्तावबारे अहिले ह्वाइटहाउसले पनि सकारात्मक प्रतिक्रिया दिइरहेको छ र आफूहरु सम्मेलनका लागि कुनैपनि बेला तयार रहेको समेत जनाएको हो । सिंगापूर बैठक देखि नै अमेरिकालाई उत्तर कोरियासँग सहकारिता गर्नमा कुनै समस्या नरहेकाले यसबारे पनि विस्तृत छलफल गरिने ट्रम्प प्रशासनको भनाइ छ ।

तरपनि सम्भावित बैठक कहिले हुन सक्छ भन्नेबारे चाहिँ स्यान्डर्सले कुनै जानकारी दिएकी छैनन् । त्यसैगरी यस खबरप्रति दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले पनि खुसी व्यक्त गरेका हुन् । उनले भने, ‘कोरियाली प्रयाद्विपमा पूर्ण निशस्त्रीकरण गर्ने विषय अमेरिका र उत्तर कोरियाबीच छलफल र सहमति मार्फत नै समाधान हुनुपर्छ ।’ गत जूनमा भएको सिंगापूर बैठक निश्चित गराउन पनि राष्ट्रपति मुनको ठूलो हात रहेको थियो भने अहिले चाहिँ उनी आफैँ पहिलोपटक प्योङयोङमा तय भएको सम्मेलनका लागि तयारी गरिरहेका छन् । सो बैठक किम र मुनबीचको तेस्रो भेटवार्ता हुनेछ ।
त्यस्तै ह्वाइटहाउसले ७० औँ वार्षिकोत्सव मनाउन उत्तर कोरियामा आयोजित आइतबारको परेडबारे पनि खुलेर प्रशंसा गरेको छ । कुनैसमय सो कार्यक्रम हतियार प्रदर्शनमा मात्र केन्द्रित रहने गरेकामा यसपटक भने कूटनीतिक सम्बन्धको मान राख्दै उत्तर कोरियाले नयाँ वातावरणमा कार्यक्रम सम्पन्न गराउनु अमेरिकाका लागि आफैँमा अर्को सफलता भएको समेत स्यान्डर्सले बताएकी हुन् । यसअघि ट्रम्प आफैँले पनि व्यक्तिगत रुपमा ट्वीट गर्दै किमलाई धन्यवाद दिएका थिए । उत्तर कोरियाली मुद्दा सकारात्मक दिशातर्फै गइरहेको दाबी गर्दै उनले आफू र किम मिली सबै आलोचकहरुलाई गलत साबित गरेरै छाड्ने वचन दिएका हुन् ।