धरान — साबिक विजेता भारतलाई २–१ ले पराजित गर्दै माल्दिभ्सले बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।ढाकास्थित बंगबन्धु रंगशालामा शनिबार फाइनलमा माल्दिभ्सका लागि इब्राहिम हुसेनले १९ औं मिनेटमा गोल गरे । दोस्रो हाफमा अली फसिरले ६६ औं मिनेटमा अग्रता दोब्बर पारे । भारतका लागि सुमित पासीले इन्ज्युरी समयमा गोल गरे पनि उक्त गोल सान्त्वनामा सीमित भयो ।

दोस्रोपल्ट साफ विजेता बनेको माल्दिभ्सले ५० हजार अमेरिकी डलर पाउँदा उपविजेता भारतले २५ हजारमा चित्त बुझायो । ३ गोल गरेका भारतका मनवीर सिंह सर्वाधिक गोलकर्ता बन्दै ७ हजार ५ सय अमेरिकी डलर पाए । सर्वोत्कृष्ट खेलाडी माल्दिभ्सका गोलरक्षक मोहमद फैसल भए । उनले १० हजार डलर प्राप्त गरे ।