धरान : चाडपर्व नजिकिदै गर्दा उपभोक्ताहरुलाई राहत दिलाउन र अखाद्य वस्तु बिक्रीतिवरणमा नियन्त्रण गर्न धरानमा बजार अनुगमन थालिएको छ ।
धरान उपमहानगरपालिका अन्तर्गत अनुगमन टोली गठन गरी आइतबारदेखि बजारको अनुगामन प्रारम्भ गरिएको हो । अनुगमन अधिकृत दिवस अधिकारीका अनुसार आइतबार दिउँसो सरोकारवाला निकायहरुसँग बैठक बसेलगत्तै टोली अनुगमनमा निस्किएको हो । बजार अनुगमन सम्बन्धी कार्यविधि तयार भएपछि अनुगमन गर्न सहज भएकोले अब हरेक साता अनुगमन गर्ने लक्ष्य राखिएको अधिकृत अधिकारीले बताए ।

1 99


अनुगमन टोलीले आइतबार धरानको छाताचोकदेखि तीनकुने केही माथिको लांघाली, साम्पाङ चोकसम्म अनुगमन गरेको थियो । पहिलो दिन मिठाई पसलहरुमा मात्र अनुगमन गरिएको अधिकृत अधिकारीले जानकारी दिए । उनले भने,‘पहिलो दिन आज मिठाई पसलहरुलाई मात्र लक्षित गरेर अनुगमन गर्यौं, २ वटाले अनुमति नलिई सडकमा मिठाई पसल चलाएकोले एक एक हजार जरिवाना तिरायौं । केही अखाद्य, डेट एक्सपायर सामानहरु पनि मिठाई पसलबाट वरामद गरेका छौं ।’
अनुगमन टोलीमा सुनसरी उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, पत्रकार महासंघ, उपभोक्ता अधिकार मञ्चका प्रतिनिधि हुन्छन् भने विज्ञकोरुपमा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारबाट पनि एक जना प्रतिनिधि हुन्छन् । चाडपर्व नजिकिदै गर्दा अखाद्य वस्तु मिसावट गरेर बेच्ने, बढी मुल्यको स्टिकर राखेर बेच्ने र उपभोक्ता ठगिने गुनासोहरु आउने गरेको छ ।