इटहरी : इटहरी उपमहानगरापलिकाले पत्रकार सम्मेलन गरी ३० औँ कार्यपालिका बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । उपमहानगरले प्रशासनिक कार्य सञ्चालनका लागि आवश्यक नियमावलीहरुसँगै अन्य प्रचारमुखी निर्णयहरु गरी जानकारी गराएको हो ।
इटहरीको मुख्य चौकमा सिसि क्यमरा जडान गर्न नसकेको अवस्थामा पूर्वमै नमुना रात्री बजार सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले गरेका निर्णयहरु मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा बोल्दै मेयर चौधरीले सडक चौडा बनाउने कार्य निरन्तर रुपमा सञ्चालन गर्ने बताए । नियम कानुनमा रही कसैलाई विभेद नगरी सडक अतिक्रमण गरी बनाएका अस्थायी संग्रचना भत्काउने उनले जानकारी दिए ।
यस्तै बठैकले उपमहानगरपालिका भित्रका खोलाको अधिकारक्षेत्र तोक्न समिति निर्माण गरिएको, कार्यालयका कामलाई डिजिटल बनाउन कर्मचारी थप गर्ने, आर्थिक सहायता वितरण सम्बन्धी मापदण्ड पारित गरिएको लगायतका निर्णयहरु गरेको छ । यस्तै असोज २ देखी ४ गतेसम्म विभिन्न कार्यक्रम गरी कानुन दिवस मनाउने निर्णय पनि गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।