धरान : नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास आजबाट सुरु भएको छ । चीनको सिचुवान प्रान्त छेन्दूमा सुरु सैन्या अभ्यास १२ गतेसम्म चल्नेछ । सैन्य अभ्यासमा सहभागी हुन महासेनानीको नेतृत्वमा १६ सदस्यीय विशेष फौजको टोली छेन्दू पुगेको छ । नेपाली–चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यासबारे जापान, कोरिया, भारत, अमेरिका र विभिन्न युरोपेली देशले असहजता प्रकट गरे पनि नेपाली सेनाले चीनसँगको संयुक्त सैन्य अभ्यास नियमित र सामान्य भएको बताउँदै आएको छ । अघिल्लो वर्ष नेपालमा भएको संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करण छेन्दूमा हुन लागेको हो । गत वर्ष वैशाखमा भएको अभ्यास यस पटक सरकार गठनमा भएको ढिलाइ र प्रधानमन्त्री ओलीको चीन भ्रमणले केही समय पछि धकेलिएको हो । नेपालले भारत, अमेरिकासँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । यता, बिम्स्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यासमा नेपालको सहभागितामा विवाद उत्पन्न भएपछि अन्तिम समयमा प्रधानमन्त्री केपी ओलीले सेनालाई सहभागी हुनबाट रोक्नुभएको थियो ।