ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “ कक्षा ३ मा तीन विद्यार्थी, भर्ना अभियानले गति लिएन” शीर्षकको सिराहको समाचारलाई मुख्य समाचारका रुपमा प्रकाशन गरेको छ ।
सिरहा सुखीपुर नगरपालिकामा विद्यालय उमेरका सबै बालबालिका विद्यालय बाहिर नरहनु् भन्ने उद्देश्यसहित भदौ महिनालाई विद्यार्थी भर्ना अभियानका रुपमा घोषण गरियो । तर, अभियानले गति लिन सकेन । सखीपुर –७ बलहीस्थित आधारभूत विद्यालयमा कक्षा तीनसम्म पठन–पाठन हुन्छ । यो विद्यालयमा कक्षा २ मा १ जना र कक्षा ३ मा २ जना विद्यार्थी छन् । विशेष भर्ना अभियानको समय सकिनै लाग्दासमेत कतिपय विद्यालयलाई भर्ना अभियानबारे जानकारी समेत छैन । जनप्रतिनिधिमा उचित बुझाइ नहुदा भर्ना अभियानले गति लिन नसकेको सुनाए । नगरपालिकाका शिक्षा शाखा प्रमुख राजकिशोर दासले भने, शिक्षा शाखामा म एक्लै छु, प्रशासनिक काम पनि म एक्लै गर्नुपर्ने र विद्यालयमा पनि आफै पुग्नुपर्ने, अर्कोतिर जनप्रतिनिधिले पनि यो अभियानलाई ठीक ढङ्गले बु¤न नसक्दा अभियान भनेजस्तो प्रभावकारी हुन सकेको छैन । भदौमा विषेश भर्ना अभियान चलिरहेको थाहा नपाएका प्रअ सिंहले नगरपालिकाको शिक्षा शाखाबाट विद्यार्थी भर्ना अभियानबारे कुनै पनि जानकारी नआएको बताए ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “लागूऔषध रोक्न धरपकड” शीर्षकमा प्रमुख समाचार छापेको छ ।
जोगबनी नाकामा लागूऔषध नियन्त्रण अभियान अन्तर्गत नेपाल र भारत दुबैतर्फ व्यापक धरपकड सुरु भएको छ । पछिल्लो समयमा भारतीय प्रहरीले पनि धरपबड सुरु गरेको छ । सोही क्रममा सीमा क्षेत्रमा रहेर लागू औषधको धन्दा चलाउदै आएका दलबल तिवारीलाई पक्राउ गरी भारतीय प्रहरीले न्यायिक हिरासतमा पठाएको छ । भारतीय प्रहरी र भारततर्फको सीमा सुरक्षा बल एसएसबीले पनि लागूऔषध नियन्त्रण अभियान सुरु गरेको छ । जोगबनी क्याम्प प्रभारी सह–सहायक सेना नायक निरुपेश कुमारको नेतृत्वमा एसएसबीले लागू औषध नियन्त्रण अभियान सुरु गरेको हो । जोगबनी नाका लागूऔषधका कारोबारी र सेवनकर्ताहरुका लागि दशकौंदेखि चर्चित नाकाका रुपमा चिनिदै आएको छ । इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरी मुद्दा चलाएका अपराधका घटनाहरु हेर्दा ९० प्रतिशतभन्दा बढी लागूऔषध सम्बन्धीका घटानाहरु नै छन् । दुई दिनअघि भारतीय प्रहरीले दलबल तिवारीलाई पक्राउ गरी कारागार चलान गरेको हुदा अब जोगबनीमा लागूऔषधको कारोबार घट्ने अनुमान गरिएको छ । तिवारी नेपालमा अवैध हतियार बिक्री गर्नेदेखि लिएर गम्भीर किसिमका अपराध गर्ने अपराधीका रुपमा चिनिन्छन् ।