धरान : संविधान दिवस २०७५ को अवसरमा आयोजित अन्तर विद्यालय वतृत्वकला प्रतियोगितामा धरानको युरेका आवासिय उच्चमाविका विद्यार्थी आयुष पाण्डे प्रथम भएका छन् ।
धरान उपमहानगरपालिका संविधान दिवस मुल आयोजक समारोहद्धारा बुधबार आयोजित ‘संविधानमा मौलिक अधिकार र नागरिकका कर्तव्य बीचको सम्बन्ध’ बिषय वतृत्वकलामा पाण्डे प्रथम भएका हुन् । उनले प्रथम हुदै प्रोत्साहन स्वरुप नगद २ हजार, प्रमाणपत्र र पुरस्कार पनि हात पारे । उनले ३ सय अंकमा २२४ अंक प्राप्त गरेका थिए । यस्तै, विष्णु मेमोरियल उच्च माविकी छात्रा एलिजा वस्तीले २०५ अंक प्राप्त गर्दै दोस्रो भइन् । उनले नगद १५ सय, प्रमाणपत्र र पुरस्कार हात पारिन् ।
यसैगरि, डिपोट उच्चमाविकी छात्रा प्रतिक्षा श्रेष्ठले २०४ अंक प्राप्त गर्दै तेस्रो स्थान हात पारिन् भने पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयका दृष्टिविहिन विद्यार्थी गगन आलेले १९६ अंक पाएर सान्त्वना पुरस्कार थापे । उनीहरुले प्रोत्साहन स्वरुप क्रमशः नगद १ हजार र ५ सय, प्रमाणपत्र र अन्य पुरस्कार पनि थापे । विजेता विद्यार्थीहरुलाई धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी, निमित्त प्रशासकीय अधिकृत पिताम्बर गौतम, प्रवक्ता एवं वडा २० का अध्यक्ष मणिराम राईलगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा धरानका २१ वटा निजी तथा सामुदायिक विद्यालयहरुबाट एक एक जना विद्यार्थीहरु सहभागी भएका थिए । संविधान दिवसलाई तीन दिन भव्यरुपमा मनाउने क्रममा धरानमा बुधबार विद्यार्थीहरुमाझ वतृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने अवसरकोरुपमा वतृत्वकला आयोजना गरिएको कार्यवाहक प्रमुख भण्डारीले बताइन् । ‘विद्यार्थीहरुको आजको भाषाशैली, प्रस्तुती हेरेपछि लाग्यो, हामीले सही निर्णय गरेका रहेछौं । अब तपाईहरुको धरानको विकास कसरी गर्न सकिन्छ भन्ने सोच थाह पाउन यस्तै कार्यक्रम गर्ने विचार गरेका छौं,’उनले भनिन् ।
प्रतियोगितामा अधिवक्ता प्रकाश राई, सहप्राध्यापक हरिप्रसाद दाहाल र डा.भिम खतिवडा निर्णायक थिए । वक्ताहरुलाई ६ मिनेटको समय दिइएको थियो । निर्णायक दाहालले देशको भविष्य अहिलेका बालबालिका र विद्यार्थीहरु भएकोले उनीहहरुको प्रतिभा, क्षमता विकास गर्न र सकरात्मक बाटोमा अघि बढ्न निरन्तर प्रोत्साहन गरिरहनुपर्ने बताएका थिए ।

aIMG_4500 aIMG_20180919_142932 aIMG_20180919_142909 aIMG_4513 aIMG_20180919_143525 aIMG_4505