प्रदेश १ बाट प्रकाशन हुने सबैजसो पत्रपत्रिकाले संविधान दिवससँग सम्बन्धित समाचारलाई नै प्रमुख समाचारका रुपमा प्रकाशन गरेका छन् ।
धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “कहीँ संविधान दिवस, कही कालो दिवस” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । देशभर उल्लासका साथ सबैतिर संविधान दिवस मनाइएकोछ । काठमाडौँको टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा उच्चपदस्थ सुरक्षा अधिकारी सहभागी भएर संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाए । ७ वटै प्रदेश तथा मातहतका स्थानीय तहले पनि संविधान दिवसमा दीप प्रज्वलन गर्दै दिवस मनाएकाछन् तर २ नम्बर प्रदेशमा भने संविधान घोषणा भएको दिनलाई कालो दिवसको रुपमा मनाएका छन् विरोध कार्यक्रममा भने राजनीतिक दलका प्रमुख र प्रतिनिधिहरुको सहभागिता न्यून देखिन्थ्यो । दिवसको अवसरमा निकालिएको प्रभातफेरीमा स्कुले बालबालिकादेखि निजामती कर्मचारी र केही सङ्घ–संस्थाका प्रतिनिधिहरु सहभागी थिए । त्यसैगरी ब्लाष्ट टाइम्स दैनिकमै “दमक–रवि–चिसापानी सडक अढाई दशकपछि ट्रयाक पूरा” शीर्षकको दमकको समाचारलाई मुख्य समाचारको रुपमा प्रकाशन गरेको छ । झापाको दमक हुँदै पाँचथरको रवि–चिसापानी पुग्ने सडक निर्माण शुरु भएको छ । फाल्गुनन्द मार्ग नाम दिइएको सडकको ६ महिनाअघि ट्रयाक पूरा भएको हो । तराई र पहाडी जिल्लालाई जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा परिचित यो मार्ग २०४९ सालबाट निमार्ण प्रक्रिया थालिए पनि स्थानीयले ०५१ देखि निर्माणको काम अघि बढाएका थिए । माथिल्लो क्षेत्रमा ट्रयाक खुलेर १५ वर्षअघिदेखि हिँउदमा यातायात सञ्चालनमा आउने गरेको थियो । तर साढे ११ किलोमिटर क्षेत्र भने रतुवा खोलाको बगरै बगर भएकोले यातायात सञ्चालन हुन सकेको थिएन ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “संविधान सर्वस्वीकार्य” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । प्रदेश सरकारले आयोजना गरेको चौथौँ संविधान दिवसका अवसरमा मुख्यमन्त्री शेरधन राईले तीन तहको निर्वाचनपछि संविधानको सर्वस्वीकार्य भइसकेको बताएका छन् । भव्य समारोहकाबीच आयोजित कार्यक्रमा मुख्यमन्त्री राईले संविधानलाई सर्वस्वीकार्य र सवैको अपनत्व हुने गरी जारी गर्दागर्दैका बखत कतिपय विषयमा असहमति देखिएपनि निर्वाचनमा सबै दलको सहभागीले सर्वस्वीकार्यता प्रकट गरेको बताएका हुन् । त्यसैगरी उद्घोष दैनिकमै “राजपाले मनायो कालो दिन” शीर्षकमा संविधानलाईकालो दिनको रुपमा मनाएको तथा कालो झण्डा सहित प्रर्दशन र बिरोध गरेको समाचारलाई बक्स न्यूज बनाई छापेको छ ।


विवेचना दैनिक : आज झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “प्रहरीमा बढ्दै विकृति, ४९५ जनामाथि कारबाही ” शीर्षकको समाचारलाई मुख्य समाचार बनाएर छापेको छ । साढे ३३ किलो सुन तस्कारी र सनम शाक्य काण्डबाट गुमेको नेपाल प्रहरीको साख कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यापछिको अनुसन्धानसम्म आइपुग्दा झनै गुमेको छ । थुप्रै जटिल अपराधको सफल अनुसन्धान गरेर वाहवाही पाएको नेपाल प्रहरी अहिले आलोचित बनेको छ । अपराधी पक्राउ गर्नुको साटो उल्टै ढाकछोप गरेको प्रहरीलाई आरोप लाग्दै आएको छ । केही दिनअघि कोटेश्वर काँडाघारी प्रहरी कार्यालयका ९ जना प्रहरीलाई घुससहित अख्तियारको टोलीले रगेहात पक्राउ गरेपछि संगठनका इमानदार प्रहरी कर्मचारी लज्जित नै भए । आइजिपी सर्वेन्द्र खनालले परिसर र मातहतका सबै प्रहरी कार्यालयका प्रमुखलाई बोलाएर झपारेनन् मात्रै उनले काम गर्न नसकने भए जागिरै छाडेर जान सुझाव दिए । काम गर्न नसक्नेको प्रहरी संगठनमा काम छैन, जागिर छाडेर जादा हन्छ नेपाल पुलिस क्लबमा उपत्यकाका सबै कार्यालय प्रमुखलाई भेला गरेर आइजिपी खनालले भनेका थिए । साथै प्रहरी कर्मचारीले गरेको अनैतिक कामको प्रकृति हेरी नोकरीबाट हटाउने, भविष्यमा सरकारी जागिरमा अयोग्य हुनेगरी बर्खास्त गर्ने , पद घटुवा गर्ने लगायत कारबाही गरएिको छ ।
“४ महिनामा ४९५ प्रहरी कारबाहिमा” गत वैशाखदेखि साउन महिनाको अवधिमा ४ सय ९५ प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ । तर, अघिल्लो वर्षमा भन्दा यो वर्ष कारबाहीमा पर्ने कर्मचारीको सख्या भने केही कमि भएको छ । अघिल्लो वर्षकै यही चार महिनामा ७ सय २२ प्रहरी कर्मचारी कारबाहीमा परेको थिए । अहिले यो सख्या घटेर ४ सय ९५ मा झरेको छ । यसलाई अझ कममा झार्ने योजना प्रहरी प्रधान कार्यालयको छ ।