धरान : संविधान दिवस मनाएको भोलीपल्टै सुनसरीमा गोली चल्दा एकको घटनास्थलमा नै मृत्यु भएको छ भने एक प्रहरी जवान घाइते भएका छन् ।

हरिनगरा गाउँपालिका २ भुटाहा भारतीय हतियारधारीको गोली लागेर मौलाना खुर्सिदको घटनास्थलमा नै मृत्यु भएको छ । उनी एमाले निकट रहेर राजनीतिमा पनि थिए भने स्थानी एक बोर्डिङ स्कुलका सञ्चालक पनि थिए । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका २ जनाले उनलाई गोली प्रहार गरेका हुन् । गोली प्रहार गरेर दक्षिण भारतीय सिमातर्फ मोटरसाइकलमा भाग्दै गरेको समुह र प्रहरीबीच घुस्कीमा आमने सामने हुदा एक प्रहरी जवान शिवलाल पौडेल पनि घाइते भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीले जानकारी दिए ।

प्रजिअ उप्रेतीका अनुसार घटना बिहान साढे ११ बजेतिरको हो । हतियारधारी समुह अहिलेसम्म पक्राउ परेको छैन । बोर्डर सिल गरेर सशस्त्र प्रहरी र जनपथ प्रहरीले खोजी कार्य तिब्र पारेको छ भने भारतीय सिमा सुरक्षा वलसँग पनि समन्वय गरेर सहयोगको आग्रह गरिएको प्रजिअ उप्रेतीले जानकारी दिए । घटनाको विरोधमा स्थानीयबासीहरु आन्दोलित बनेका छन् । घटनास्थल नजिकै सशस्त्र क्याम्प भएपनि ढिलो गरी आएको भन्दै स्थानीयहरु आक्रोशित भएका हुन् । 

घाइते प्रहरी खतरामुक्त
भुटाहामा खुर्सिदमाथि गोली प्रहार गरेर भाग्दै गरेको समुहको गोली प्रहारबाट घाइते भएका प्रहरी जवान शिवलाल पौडेलको अवस्था खतरामुक्त छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

चिकित्सक डा.देवेन्द्र गौतमका अनुसार उनको दाहिने तीघ्रामा गोलीले छेडेको छ भने दाहिने कम्मरमा पनि गोलीले छेडेको छ । यद्यपी, उनको एक्स रे लगायतको आवश्यक जाँच हुने क्रममा छ । ‘उहाँ खतरामुक्त हुनुहुन्छ, थप आवश्यक जाँचहरु हुने क्रममा छ,’डा. गौतमले भने । घाइते पौडेललाई इनरुवामा प्रारम्भिक उपचार पछि सवा २ बजेतिर मात्र धरान ल्याइएको हो ।

घाइते प्रहरी जवान पौडेलका अनुसार भुटाहामा गोली प्रहार गर्ने समुह दक्षिण भाग्दै गरेको खबर पाउनासाथ घुस्की प्रहरी चौकीबाट उनी राइफल बोकेर बाटोमा निस्केका थिए । त्यसैबेला मोटरसाइकलमा भारतीय अपराधीहरु आइपुगेपछि आमनेसामने भए । उनले राइफल लोड गर्न नपाई मोटरसाइकलमा पछाडि बसेका युवाले पेस्तोल चलाएका थिए । ‘खबर पाउनासाथ म राइफल लिएर निस्केको मात्र थिए, उनीहरु आइपुगि हाले । पछाडि बसेकोले पेस्तोल चलाइहाल्यो,’उनले भने ।