धरान : सुनसरीको हरिनगरा गाउँपालिका २ भुटाहा भएको गोलीकाण्डको उच्चस्तरीय छानबिन समिति गठन गर्न नेपाल कम्युनिष्ट पार्टी सुनसरीले माग गरेको छ ।
एकीकरण हुन बाँकी एमालेका जिल्ला संयोजक रमेश बस्नेत र माओवादी केन्द्रका कार्यवाहक संयोजक योगेन्द्रप्रसाद मण्डलले बिहिबार संयुक्त विज्ञप्ती जारी गर्दै घटनाको सत्य तथ्य छानबिन गर्न उच्चस्तरीय समितिको माग गरेका हुन् । उनीहरुले अपराधी पत्ता लगाई यथासिघ्र चाडो कानुनको दायरामा ल्याउन पनि माग गरेका छन् । बिहिबार करिब ११ बजे भुटाहा बजारमा भएको गोली प्रहारबाट स्थानीय रवैया बोर्डिङ स्कुलका सञ्चालक खुर्सिद आलमको घटनास्थलमा नै मृत्यु भएको थियो । उनी नेकपा एमालेका जिल्ला सल्लाहकार परिषदका सदस्य थिए ।
भारतीय नम्बर प्लेटको २ वटा मोटरसाइकलमा आएको समुहले स्कुलबाट घरतर्फ मोटरसाइकलमा गइरहका खुर्सिदलाई गोली प्रहार गरेको थियो । उनलाई कञ्चट, पेट र खुट्टामा गोली लागेको थियो । घटनालगत्तै दक्षिणतर्फ भाग्दै गरेको समुहसँग जम्काभेट हुदा घुस्की प्रहरी चौकरीका जवान शिवलाल पौडेलमाथि पनि सोही समुहले गोली प्रहार गरेको थियो । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनी खतरामुक्त छन् ।
नेकपाले ब्यस्त बजारमा मह्याह्न भएको घटनामा करिब ४५ मिनेटपछि मात्र स्थानीय प्रहरी पुगेको र अपराधी पक्राउ नपरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तीमा उल्लेख गरेको छ । साथै, सो क्षेत्रमा शान्ति सुरक्षा सुदृढ गर्न र मृतकका परिवार, आफन्तलाई राज्यबाट उचित क्षतिपुर्ति दिई राज्यबाट सम्मान गर्न पनि नेकपाले माग गरेको छ । साथै, घटनालाई अतिरञ्जित बनाई भड्काउने सम्भावना भएकोले संयमता अपनाउन नेकपाले सबैलाई आग्रह पनि गरेको छ ।

v 1