धरान : भारतीय अपराधीहरुको गोली प्रहारबाट तत्कालीन एमाले जिल्ला सल्लाहकार मौलाना खुर्सिदको हत्या गरिएपछि हरिनगरा गाउँपालिका २, भुटाहाका स्थानीयबासीहरु आन्दोलित छन् । उनीहरुले मृतकको शव उठ्न दिएको छैन ।
खुर्सिदको शव घटनास्थलमा राखेर आन्दोलनमा छन् । शव उठ्न नपाएपछि पोष्टमार्टम हुन पाएको छैन । स्थानीयबासी तथा इनरुवास्थित वर्णमाला दैनिकका पत्रकार नसिम अन्सारीका अनुसार खुर्सिदको शवलाई भुटाहा घुस्की सडकमा राखेर स्थानीयहरुले प्रर्दशन गरिरहेका छन् । स्थानीय राजनीतिक दलका नेताहरु र प्रहरी, प्रशासनबीच वार्ता चलिरहे पनि निष्कर्षमा पुगेको छैन । आक्रोशित स्थानीयबासीहरुले गृहमन्त्री घटनास्थलमा नआएसम्म र उच्चस्तरीय छानबिन समिति नबनेसम्म शव उठ्न नदिने र जिम्मा पनि नलिने अडान लिएका छन् । पत्रकार अन्सारीले भने,‘म घटनास्थलमा नै छुँ, स्थानीयबासीहरुले शवलाई बाटोमा नै राखेका छन् र त्रिपाल टाँगेर बसेका छन् ।’
पत्रकार अन्सारीका अनुसार प्रहरी प्रशासनको विरुद्धमा नाराबाजी पनि भइरहेको छ । पुर्व सांसद जाकिर हुसैनको नेतृत्वमा राजधानीमा मुस्लिम नेताहरुले गहृमन्त्री रामबहादुर थापालाई भेटेर स्थानीयबासीको मागबारे अवगत गराइसकेका छन् ।