प्रदेश १ बाट प्रकाशन हुने सबै जसो दैनिक पत्रिकाले सुनसरी गोलीकाण्डको समाचारलाई प्रमुख समाचारका रुपमा छापेको छ ।
ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “भारतीय बन्दुकधारीबाट दिनदहाडै गोली प्रहार” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
अज्ञात बन्दुकधारीको गाली प्रहारबाट बिहिबार बिहान ११ बजे सुनसरीको हरिनगर गाँउपालिका–२ का मौलाना खुर्सिद अन्सारी आलमको मृत्यु भएको थियो । भारतीय मोटरसाइकलमा आएका बन्दुकधारीहरुले बिहिबार बिहान हरिनगर–२ मा आलमको हत्या गरी फरार छन् । नम्बर प्लेट नभएको सेतो रङको अपाचे र निलो रङको पल्सर मोटरसाइकलमा आएका ४ जनाको समुहले घेरा हाली खुर्सिद को हो भनि सोध्दै टाउको र छातीमा गोली प्रहार गरेको हरिनगर गाँउपालिकाका न्यायिक समिति सदस्य अलाउद्दीन अन्सारीले बताए । सोही समाचारसँगै ब्लाष्ट टाइम्सले “नेकपाद्वारा छानविन समिति बनाउन माग” शीर्षकको समाचार पनि छापेको छ । नेकपाले विज्ञप्ति जारी गर्दे उच्च स्तरीय छानबिन समिति गठन गरी घटनाको सत्य तथ्या पत्ता लगाउन र अपराधीलाइ तत्काल प्रकाउ गरी कारबाहि गर्न माग गरेको छ । यस्तै, सोही घटनासँग सम्बन्धित “भीडले गर्दा फायर खोल्न सकिन” भने शीर्षक दिएर घाइते प्रहरी जवानको भनाइ सहितको समाचारलाई पनि प्राथमिकताका साथ छापेको छ ।

ब्लाष्ट टाइम्स दैनिककै पहिलो पृष्ठमा “बल्ल भुकम्प पीडीतलाई ३४ करोड” शीर्षकमा पनि समाचार छापेको छ । धनकुटाबाट लेखिएको उक्त समाचारमा जिल्लाका भुकम्प प्रभाबित २ हजार ७ सय ९६ लाभग्राहीहरुले पहिलो र दोस्रो किस्ता बापत ३४ करोड २७ लाख अनुदान रकम पाएको उल्लेख छ ।
मर्निङ टाइम्स : मर्निङ टाइम्स दैनिकले पनि हरिनगरमा भएको गोली काण्डलाई “दिउँसै बजारबीच गोली हानी हत्या” शीर्षक दिएर पहिलो पृष्ठमा तस्विर सहितको समाचार प्रकाशित गरेको छ । मर्निङ टाइम्सले पहिलो पृष्ठमा नै “टिप्परले बालकको मृत्यु” शीर्षकमा उदयपुरको त्रियुगा नगरपालिका–७ कौवाईमा एक बालको मृत्यु भएको समाचार प्रकाशित गरेको छ । वैकल्पिक राजमार्ग निमार्णका ठेक्कका पाएका जेडआईईसी लामा एण्ड शर्मा जे भी कम्पनीको टिप्परले ठक्कर दिँदा स्थानीय मिन बहादुर कार्कीका १२ वर्षिय छोरा रोशन कार्कीको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुर डिएसपी मेघराज अधिकारीका अनुसार कोवाईस्थित मुर्कुचीबाट चुहाडेतर्फ आउँदै गरेको ना १ क ७९०७ नम्बरको टिप्परले ठक्कर दिई गम्भीर घाइते बनाएको थियो । थप उपचारका लागि विराटनर लैजाने क्रममा बालकको बाटैमा मृत्यु भएको डिएसपी अधिकारीले जानकारी दिए ।


विवेचना दैनिक : झापाबाट प्रकाशित हुने विवेचना दैनिकले “विप्पनता र हिंसाले यौन पेसामा” शीर्षकको समाचारलाई प्रमुखताका साथ प्रकाशित गरेको छ । उक्त समाचारले आर्थिक अवस्था कमजोर भएका युवतिहरु सुनसरीका होटल तथा रेस्टुराँमा विभिन्न करकाप तथा बाध्यताले यौन व्यवसाय अँगालेको उल्लेख छ । उनीहरू होटल, रेस्टुराँ, बार, सेकुवा घरहरू र खाजा घरहरूमा कार्य गरिरहेका पाइन्छ । तर, उनीहरूमध्ये धेरैजसोलाई सम्मानजनक तरिकाले काम गर्न अप्ठ्यारो परिरहेको छ । विशेषगरी किशोरीहरू यौन तथा विभिन्न जोखिमपूर्ण कामबाट हिंसामा धकेलिँदै गएका स्थानीय बताउँछन् । किशोरीहरूले इच्छाले होइन, विभिन्न करकाप तथा बाध्यताले यौन व्यवसाय अँगालेका पाइन्छ । सुनसरीका होटल तथा रेस्टुराँमा सुनसरी र मोरङ, पहाडी जिल्ला संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुमलगायतका ठाउँबाट केही गर्ने सपना बोकेर किशोरी र युवतीहरू आउने गर्छन् । अवसरको खोजी गर्दै जाँदा सबैभन्दा पहिलेचाहिँ होटल तथा रेस्टुराँमा भाँडा माझ्ने, खाना पकाउने, सरसफाइ, वेटर जे भए पनि गर्ने भन्दै ठोकिन पुग्छन् । अनि विस्तारै उनीहरू विभिन्न किसिमको यौनजन्य काममा धकेलिने गरेको पाइएको प्रहरीको भनाइ छ । विपन्नता र हिंसा प्रमुख कारण किशोरीहरूले इच्छाले होइन, विभिन्न करकाप तथा बाध्यताले यौन व्यवसाय अँगालेको पाइने गरेको एक युवतीले बताइन् । उप्का नेपाल नाम गैरसरकारी संस्थाले केही समयअघि गरेको एउटा सर्भेअनुसार सुनसरीको इटहरीमा एक हजारभन्दा बढी होटल रहेका छन् । तीमध्ये झन्डै ४०० मात्र दर्ता छन् । सुनसरीको धरान, इनरुवामा पनि इटहरीको तुलनामा केही कम होटलहरू रहेका छन् । उप्का नेपालको तथ्यांकमा १३७ महिला तथा किशोरीहरू होटलमा जोखिमपूर्ण काम गरिरहेका छन् ।


नागरिक पूर्वेली संस्करण :  विराटनगरबाट प्रकाशन हुने नागारिक पूर्वेलीमा “अन्तर्राष्ट्रिय उडानका लागि पूर्वाधार तयार” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । विराटनगर विमानस्थलबाट तत्कालै भारतका विभिन्न सहरमा सिधा हवाईसेवा सञ्चालन गर्न सकिनेछ । विमानस्थलको पूर्वाधार तयार भए पनि विमान कम्पनी उडानका लागि तयार नहुँदा अन्तर्राष्ट्रिय उडान सञ्चालनको प्रक्रिया अघि बढ्न सकेको छैन ।