धरान : महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले धरानमा ४५ दिने निःशुल्क सिलाई बुनाई तालिम आयोजना गरिएको छ ।
तिजको अवसर पारेर लायन्स क्लब अफ धरान विजयपुरको व्यवस्थापन तथा युना कटिङ सेन्टरको सहयोगमा महिलाहरुलाई निःशुल्क तालिम दिइएको हो । उक्त तालिमको शनिबार एक कार्यक्रमबीच महिला सञ्जाल धरानकी अध्यक्ष सविता राईले मेशिनमा कपडा सिलाई गरेर उद्घाटन गरेकी थिइन् । तालिमको लागि २० जना महिलाहरुलाई छनौट गरिएको लायन दिवनलाल श्रेष्ठले जानकारी दिए ।
तालिम उद्घाटन कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी महिला सञ्जालकी अध्यक्ष राईले महिलाहरु उत्पादन र आर्थिक उपार्जनसँग जोडिन आवश्यक भएको धारणा राख्दै निःशुल्क सीप सिकाएर आत्मनिर्भर बनाउने आयोजक संस्था र प्रशिक्षकलाई धन्यवाद दिएकी थिइन् । महिलाहरु आत्मनिर्भर भए मात्र घरपरिवार र समाजमा समानता कायम हुने पनि उनको भनाई थियो । ‘अब हरेक महिलाहरुलाई सिप सिकाउनुपर्छ, र आत्मनिर्भर बन्नुपर्छ, यस्तै कार्यक्रमहरु गरेर आत्मनिर्भर बनाउनुपर्छ,’उनले भनिन्,‘तपाईहरुले सिप सिक्न चाहने महिलाहरुलाई निःशुल्क तालिमको अवसर दिनुभयो, यसको लागि म धन्यवाद दिन चाहन्छु ।’
तालिममा सहभागीहरुलाई विमला कोइरालाले प्रशिक्षण दिनेछिन् । विगत १३ बर्षदेखि सिलाई बुनाई पेशामा रहेकी कोइरालाले लायन्स क्लबमा आवद्ध भएपछि सामाजिक काम गर्न पनि प्रेरणा पाएको बताइन् । हिजोआज सिलाई बुनाई सिप सिक्ने र आत्मनिर्भर हुने महिलाहरुको संख्या बढ्दै गइरहेको छ । महिलाहरुको लागि यो सजिलो र भरपर्दो माध्यम बनेको छ । उद्घाटन कार्यक्रममा बिशेष अतिथि सिनियर एडभाइजर लायन गौरीशंकर अग्रवाल, अतिथिहरु बलराम मानन्धर, एरिया कोअर्डिनेटर टंककुमारी गुरुङको पनि उपस्थिति रहेको सचिव रोशन श्रेष्ठले जानकारी दिए ।

 pic 2 3

तस्बिर क्याप्सन :तालिमको उद्घाटन गर्दे महिला सञ्जालकी अध्यक्ष सविता राई ।
र,
तालिम उद्घाटन पछि सामुहिक तस्बिर खिचाउदै ।