ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “ चप्पल उद्योगद्वारा श्रमशोषण” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
मोरङको बूढीगङ्गा गाँउपालिकाकी मदनकुमारी अधिकारीले ‘हाइफाइ’ चप्पल उद्योगमाकाम गर्न थालेको पाचवर्ष भयो । दैनिक उनी ८ घण्टा काममा खट्छिन् । काम गरेबापत प्रतिघण्टा ३० रुपैयाको दरले २ सय ४० रुपैया पाउछिन् । त्यस्तै गीता श्रेष्ठले पनि यस उद्योगमा काम गर्न थालेको ६ वर्ष पुरा भयो । उनले समेत मदनकुमारीले पाउने जस्तै श्रमको ज्याला पाउने गरेको बताइन् । यस उद्योगले कार्यरत श्रमिकलाई श्रम सम्झौता नगराई काममा लगाउदै आएको पाइएको छ । मदनकुमारी र गीतामात्र होइन, करिब २ सय श्रमिकको अवस्था उस्तै छ । उद्योगले उनीहरुलाई घण्टाअनुसार ज्यालाबाहेक अन्य सुविधा नदिएको श्रमिकहरु गुनासो गर्छन् ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “गोरेले नै छुटाए सुन काण्डका प्रहरी अधिकारीलाई” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा प्रकाशन गरेको छ ।
३८ क्विन्टल सुन तस्कारी र सनम हत्या प्रकरणमा चुडामणि उप्रती गोरे भन्दा अघि प्रकाउ परी कारागार चलान भएकाहरु अहिले गोरेकै कारण धमाधम छुट्दै गएका छन् । सुन काण्डका मुख्य आरोपित गोरेको बयानकै कारण पक्राउ परेको उच्च प्रहरी अधिकारीहरु धरौटीमा रिहा भइरहेकोे छन् । उनीहरुलाई थप कारवाहीकालागि पर्याप्त प्रमाण नभइरहेको जनाइएको छ ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “हामीले खाने तरकारीमा विषादीको जोखिम भयावह” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा प्रकाशन गरेको छ ।
नेपालमा कस्ता तरकारी विषादी भएका हुन र कस्तामा विषादी छैन भन्ने मापन नगरी खाने चलन छ । काण्माडौंको कालीमाटीको तरकारी बजारमा भने अचेल पिषादीको परीक्षण गर्ने गरिन्छ । त्यस बाहेक मुखले यो अर्गयानिक हो भनेको भन्दा बाहेको तरकारीको मापन गर्ने कुनै संयन्त्रनै छैन । तरकारी तथा फलफूलमा लाग्ने रोग र किराका विरुद्ध जथाभावी विषादी प्रयोगका कारण खासगरी शहरी क्षेत्रका बासिन्दाको स्वास्थ्य जोखिममा परेको अधिकारीहरु बताउछन् ।

उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “ पूविका विद्यार्थी आमरण अनशनमा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा प्रकाशन गरेको छ ।
विराटनगर परीक्षा केन्द्र आर्थिक चलखेलका आधारमा तोकिएको बताउदै पूर्वाञ्चल विश्वविद्यालय (पूवि) अन्तरगतको सेन्ट्रल इन्जिनियरीङ कलेज जनकपुरका ६ जना विद्यार्थीले केन्द्रीय कार्यालय विराटनगरमा सामुहिक आमरण अनशन सुरु गरेका छन् । आन्दोलनका लागि जनकपुरबाट आएका ६० विद्यार्थीमध्ये ६ जना विद्यार्थीले आइतबारबाट विश्वविद्यालयको कार्यालय अगाडी सामुहिक आमरण अनशन सुरु गरेका हुन् ।

विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “कोलिफर्म भएका पानीको उत्पादन र बिक्री रोकिएन” शीर्षकको समाचारलाई मुख्य समाचार छापेको छ ।
झापाका चारवटा खानेपानी उद्योगले उत्पादन गरेको पानीमा कोलिफर्म फेला परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरले उद्योग बन्द गरी उत्पादन रोक्न पत्राचार गरेको थियो । तर, पत्राचार गरेको एक हप्ता बितिसक्दा पनि ती उद्योगले उत्पादन गरेको पानी अझै बजारमा बिक्रि भइरहेको छ, उत्पादन पनि रोकिएको छैन । सामाजिक विकासमन्त्री जीवन घिमिरेले गत भदौ २० गते झापाका नौवटा खानेपानी उद्योगको स्थलगत अनुगमन गर्दै पानीको नमुना संकलन गरी परीक्षणका लागि खाद्यप्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगर पठाएका थिए । अनुगमन गरिएका मध्ये बिर्तामोडस्थित देवी पाथिभरा इन्डष्ट्रिजबाट उत्पादित लाइफलाइन, प्रकाश बेभरेज इन्डष्टिनबाट उत्पादित लाइफ केयर, बुद्धशान्ति गाउँपालिका–३ स्थित भगवती बेभरेजबाट उत्पादित ओ–एक्वा र मेचीनगर नगरपालिका–६ स्थित अक्वाटप मकालु मिनिरल वाटर उद्योगबाट उत्पादित मकालु ब्रान्डको पानीमा कोलिफर्म भेटिएको हो । परीक्षणपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरले ती चारवटै उद्योगलाई भदौ २६ गते नै पत्राचार गर्दै प्रशोधित पानीको गुणस्तर कायम गरी मात्र बिक्री वितरण गर्न निर्देशन दिएको थियो । तर, ती उद्योगले हालसम्म नै उद्योग सञ्चालन गरी उत्पादित पानी बजार पठाइ रहेकाछन् ।