धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्वको सबैजसो जिल्लाबाट विरामी रिफर भई आउने अस्पताल पनि हो । यहाँ बिशेषज्ञ चिकित्सकहरुको सेवा पाइने भएकोले विरामीहरु रिफर भई आउछन् । सिकिस्त विरामीहरु बोकेर एम्बुलेन्स तीब्र गतिमा हुइकिएको हुन्छ । तर, ती विरामीहरुको बाटोमा नै ज्यान जान पनि सक्छ । कारण हो, कोशीराजमार्गको दुरावस्था । अहिले कोशी राजमार्गको इटहरी, धरान भेडेटार सडकखण्ड ठाउँ ठाउँमा खाल्डाखुल्डी परेर धराप थापेजस्तै भएको छ । धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख होमराज दाहाल सडकमा भएको खाल्डाखुल्डीले सवारी आवागमनलाई अस्तब्यस्त मात्र पार्दैन, दुर्घटनाको जोखिम पनि बढाएको छ । सडकका जहीत्यही खाल्डाखुल्डी छ । विरामी बोकेर आएको एम्बुलेन्स छिटो अस्पताल पुग्न तीब्र गतिमा हुइकिएको हुन्छ । त्यसबेला खाल्डोमा परेर एम्बुलेन्स पल्टिने र विरामीको ज्यानै जाने खतरा भएको पनि उनी बताउँछन् । ‘बीपीमा टाढा टाढाबाट विरामीहरु उपचार गराउन एम्बुलेन्समा आएका हुन्छन्, सिकिस्त विरामीहरुलाई छिटो अस्पताल पुर्याउनुपर्ने हुन्छ,’ट्राफिक प्रहरी प्रमुख दाहालले भने,‘त्यो बेला सडकको खाल्डोमा परेर एम्बुलेन्स उछिटिन सक्छ वा खाल्डोमा जोगाउन खोज्दा पल्टिएर विरामीको पनि ज्यानै जानसक्छ । समस्या एम्बुलेन्सलाई मात्र होइन, सबै सवारीलाई छ ।’
कोशी राजमार्ग सडक डिभिजन कार्यालय विराटनगर अन्तर्गत पर्दछ । सडक अन्तर्गत भएको हुनाले स्थानीय तहले यो सडकमा लगानी गर्न मिल्दैन । सडक मर्मत गर्न वडा वा नगरपालिकाले लगानी गरे त्यो बेरुजु हुन्छ । राजमार्ग निर्माण वा मर्मतको जिम्मेवारी सडक विभाग र उसको मातहतको डिभिजन कार्यालयको हो । तर, सडक डिभिजन कार्यालय कानमा तेल हालेर बसेको छ । जनतालाई परेको समस्याप्रति सडकका हाकिमहरु सधै उदासिन रहदै आएको छ । आइतबार मात्र धरानका विभिन्न वडाका अध्यक्षहरु चाडो मर्मत गराउन दबाब दिने उद्देश्यले सडक डिभिजन कार्यालय विराटनगर पुगेका थिए । प्रमुख जितेन्द्र चौधरी र सहायक प्रमुख दिपक झा महिना दिनदेखि विदा नमिलाई काठमाण्डौंमा बसेको खुलेको थियो । त्यस बिषयमा आइतबारनै मोरंग जिल्ला प्रशासन कार्यालयले ३ दिनभित्र स्पष्टीकरण सोधीसकेको छ ।

IMG_20180923_151915 copy

 

सडकलाई झाडीले ढाक्न लाग्यो :
ट्राफिक प्रहरीको अनुसार समस्या सडकको खाल्डोमा मात्र होइन, धरान–तरहराबीचमा पर्ने चारकोसे जंगलमा पनि बढेको छ । सडकको दाँया बाँया झाडी सफाई नगर्दा सडकसम्मै झाडी आइपुगेको छ । त्यसले गर्दा वन्यजन्तुहरुलाई जोखिम बढाएको जिल्ला ट्राफिक प्रमुख दाहाल बताउँछन् । उनका अनुसार झाडी सफाई नगर्दा जंगलको वन्यजन्तु एक्कासी सडकमा निस्कने र गाडीमा ठोकिएर मृत्यु हुने अत्यधिक जोखिम हुन्छ । अझ राती यस्तो घटना बढी हुने उनको भनाई छ । ‘झाडी सफा गर्ने जिम्मा पनि सडक विभागकै हो । सडक र जंगलको बीचमा सधै सफाई हुनुपर्छ, जसले गर्दा परैबाट वन्यजन्तुले राती गाडीको लाइट देखुन्, चालकले पनि वन्यजन्तु देखुन्,’उनी भन्छन्,‘झाडी सडकसम्मै आइपुग्दा वन्यजन्तु सडकमा निस्केपछि मात्रै देखिन्छ, र ठोकिएर दुर्घटना हुन्छ, वन्यजन्तु पनि मर्छ ।’
भेडेटार धरान सडकखण्डमा पनि झाडी सफाई नहुदा समस्या भएको छ । उक्त सडक खण्डको ट्राफिक चिह्न वा संकेतहरुलाई झाडी र लहराले छोपिसकेको दाहाल बताउँछन् । थप ट्राफिक चिह्न राख्नका लागि स्थलगतरुपमा जादा भएको ट्राफिक संकेत पनि छोपिएको अवस्थामा देखिएको उनले बताए । उनले भने,‘घुम्ती, मोडहरुमा नयाँ ट्राफिक संकेतहरु राख्न भनेर ठाउँ हेर्न गएको थिएँ, झाडी र लहराले ठाउँ नै भेटिएन ।’

IMG_20180923_151818 copy dharan bhanuchowk2 (1)