धरान : विश्व पर्यटन दिवसको अवसरमा शनिबार धरानमा दृष्य चित्रकला कार्यशाला आयोजना हुने भएको छ । पर्यटन क्षेत्रका सक्रिय धरानको सेक्ष ट्राभलिङले शनिबार बिहान दृष्य चित्रकला कार्यशाला गर्न लागेको हो ।
विश्वभर २७ सेप्टेम्बरलाई पर्यटन दिवसको रुपमा मनाउने गरिन्छ । पर्यटन दिवस बिहिबार भएपनि सेक्षले कार्यक्रम भने शनिबार गर्न लागेको हो । यो बर्षको विश्व पर्यटन दिवसको नारा ‘टुरिज्म एण्ड द डिजिटल ट्रान्सफरमेशन’ रहेको छ । सेक्षकी प्रबन्ध निर्देशक एलिना मगरका अनुसार शनिबार बिहान धरान र आसपासका सहरबाट १५ जना कलाकारहरु कार्यशालामा सहभागी हुनेछन् । उनीहरुले प्रदेश १ को दृष्यहरुलाई क्यानभासमा फेब्रिक रंगमा उतार्नेछन् । ‘कार्यशालाको उद्घाटन माननिय सभामुख प्रदिप भण्डारी ज्युबाट हुनेछ, कार्यक्रम होटल सेक्षको आगनमा हुन्छ,’मगरले भनिन् ।करिब ६ बर्षअघि १७ वटा टुर प्याकेज सार्वजनिक गर्दै सेछ ट्राभलिङ शुरुवात भएको थियो । हाल सेक्षले धरानमा दुई वटा होटल सञ्चालनसँगै पूर्वमा नै पहिलो जंगल सफारी, युवतीहरुद्वारा स्कुटीमा गाइड गरी नौ पोइण्ट घुमाउने अवधारणा ल्याएको छ । यस्तै, धरानको पर्यटकीय पहिचान सहितको इब्रोइण्डरी टिसर्ट, मिनी म्युजियम, पर्यटन पत्रकारिता पुरस्कार वितरणलगायत कार्यक्रमहरु पनि गरेको छ ।