ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “बीपीमा बिरामीको बिचल्ली” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । पानबारी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सी वार्डमा बिरामीको अत्यधिक चापका कारण उपचारमा समस्या भएको छ । कम्तिमा पनि ७२ घण्टा अब्जरवेशनमा रहनु पर्ने पोइजनिङ केश (विष सेवन गरेका बिरामीलाई) समेत प्रतिष्ठानको इमरजेन्सी वार्डबाट १६ घण्टा नबित्दै जबरजस्ती घर पठाएको छ । मेडिसिन विभागले भर्ना नगर्दा समस्या बीपी प्रतिष्ठाको मेडिसिन विभागको लिफ्ट बिग्रको कारण देखाउँदै तेस्रो तलामा अवस्ति ३५ बेड क्षमताको युनिट २ मा बिरामी भर्ना नगरेपछि बीपीमा गरका बिरामी अन्यत्र रेफर हुन बाध्य भएका छन् ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “ भारतबाट आउन थाले इनरुवामा उपचार गर्न” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
छिमेकी मुलुक भारतबाट सर्पले टोकेका विरामीहरु पछिल्लो समयमा सुनसरी सदरमुकाम इनरुवामा रहेको अस्पतालमा उपचारका लागि आउन थालेका छन् । भारतको सुपौलबाट सर्पको टोकाइका कारण गम्भीर वनेर वुधबार उपचारका लागि इनरुवा अस्पताल ल्याइएकी ७ वर्षीया बालिका निशाकुमारीको स्वास्थ्य सुधार भएको छ । सर्पले टोकेपछि उपचारका लागि भारतमै रहेको प्राथमिक स्वास्थ्य केन्द्र बसन्तपुर भीमनगरमा उपचारका लागि लगिएको त्यहाँबाट रेफर गरेपछि इनरुवा अस्पताल ल्याइएको थियो ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “अपहरण भएको भनिएका डा. यादव पक्राउ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सिरहाको लहानबाट हिजो साँझ अपहरण भएको भनिएको डा सुभाष यादवलाई गएराति ११ बजे प्रहरीले फेला पारेको छ । सप्तरीको मल्हनिया (२ निवासी डा यादवलाई प्रहरीले सर्लाहीको नवलपरमा फेला पारेको हो । अर्को युवतीसँग प्रेम विवाह गरेको थाहा पाएर उहाँकी श्रीमती र ससुरालीले त्यो सम्बन्ध छुट्याउनका लागि डा यादवलाई विगत एक महिनादेखि लहानमै राखिरहेका थिए । हिजो साँझ बजार घुम्न निस्किएका डाक्टर जीपमा चढेर एकाएक फरार भएपछि अपहरणको हल्ला चलेको थियो । सम्पर्क हुन छोडेपछि उहाँका आफन्तले अपहरणमा परेको हुनसक्ने भन्दै प्रहरीमा खबर गरेका थिए । अपहरणमा परेको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले डा यादवलाई सर्लाहीको नवलपुरमा चेकजाँचका क्रममा फेला पारेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । यादवसँगै उहाँलाई भाग्न सहयोग गर्ने एक सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “लाशसँग ११ वर्ष” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
कहिलेकाहीँ हात चल्न खोज्छ, दायाँ फर्कायो, बायाँ फर्कन्छ, लाग्छ– पोष्टमार्टम गर्न ल्याएको लाश बौरिन खोज्दैछ, यो भनाइ हो उर्लाबारी–३ का विनोद मरिकको । मरिक स्थानीय मग्ङलबारे अस्पताल (साविक प्राथमिक स्वास्थ्य केन्द्र )को पोष्टमार्टम विभागमा २०६४ देखि कार्यरत छन् । औसत मानिस स्वाभाविक मृत्युसँग पनि डराउँछन् । अझ पूर्वीय परम्परामा भूतप्रेत र पिचासको बारेमा उत्तिकै चर्चा हुने गर्छ । तर, ३१ वर्षीय मरिकले भने सधैँ लाशसँग खेल्नुपर्छ । उनी भन्छन्, ‘एकातिर पल्टाउन खोज्यो लाश अर्कैतिर पल्टछ ।’ मरिकलाई थाहा छ यो लाश हो भन्ने । यद्यपि कहिलेकाहीँ मुर्दाले उनलाई रातभरि जिस्क्याउँछ । सुरुसुरुमा त मुर्दाले मरिकको महिनौँ दिन निद्रा लुट्यो, भोक खोस्यो । जागिरको थुप्रै विकल्पको खोजी गरे । तर, २ छोरा र श्रीमतीलाई दुई छाक जाउलो जुटाउने उपाय उनीसँग केही छैन । ‘मरेका मान्छेको लाश चिरेर डोरीले सिलाउने काम चानचुने होइन । अझ मरेको ८–१० दिनपछि ल्याइएका लाशको पोष्टमार्टम गर्न झन् गाह्रो हुन्छ । कीरा भएको लाश कीरा पन्छाउँदै चिर्नुपर्छ । अनि सिलाउनु पनि पर्छ’, विनोदले आफ्नो पेशाप्रति दिक्दारी प्रकट गरे । उर्लाबारी–३ मगलबारेस्थित मङ्गलबारे अस्पतालमा सरदर प्रत्येक दुई दिनमा एउटा लाश पोष्टमार्टमका लागि आउने गर्छ । ११ वर्षको अवधिमा कति लाश चिर्नु भयो भन्ने जिज्ञासामा उनले भने, ‘झापाको दमकमा पोष्टमार्टम हुन थालेपछि यहाँ अलि घटेको छ ।’ अघिल्लो वर्षसम्म दैनिक एउटा लाश पोष्टमार्टम भएको थियो । मरिक अस्पताल विकास समितिअन्तर्गतका कर्मचारी हुन् । मासिक ८ हजार ८ सय तलबमा काम गरिरहेका विनोदले भने, ‘थोरै तलबमा गाह्रो काम गर्नुपर्छ । हाम्रो माग सुनुवाई नै हुँदैन ।