आज २७ सेप्टेम्बर अर्थात विश्व पर्यटन दिवस । विश्वभरका पर्यटनकर्मी र सरोकारवाला सरकारी निकायहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ । विगतका केही बर्षहरुमा यो दिन पर्यटन सम्बन्धी कार्यक्रमहरु आयोजना गरिन्थ्यो, तर यसपाली भने धरानमा यो दिनमा गतिविधि शुन्य छ ।
धरानको विकास र समृद्धि पर्यटनको प्रर्वद्धन, विकासबाट सम्भव हुने भन्दै स्थानीय सरकार, पर्यटन सम्बद्ध निकाय, निजी क्षेत्रले भन्दै आएका छन् । स्थानीय सरकार धरान उपमहानगरपालिकाले पर्यटन प्रर्वद्धन र विकास गर्न समिति पनि गठन गरेको छ । होटल एशोसिएन, सुनसरी उद्योग वाणिज्य संघ, ट्राभल एजेन्सीहरुलगायत पर्यटनसँग जोडिएका निजी क्षेत्रहरु पनि धरानमा छन् । साहसिक खेल पर्यटनसँग सम्बद्ध विभिन्न संस्थाहरुको समुह एक्स्ट्रीम धरान पनि छ । धरान र धरानेहरु पर्यटनमा आफुलाई अग्रणी मान्छ । तर, २७ सेप्टेम्बर अर्थात विश्व पर्यटन दिवसको दिन आज धरानमा कुनै कार्यक्रम वा गतिविधिहरु भने तय भएको छैन ।
विगत ६ बर्षदेखि निरन्तर पर्यटनकर्ममा रहेका सेक्ष ट्राभलिङसम्बद्ध पर्यटनकर्मी वासुदेव वराल पर्यटनमा आफुलाई अग्रणी मान्ने सहर धरानमा विश्व पर्यटन दिवसमा कुनै कार्यक्रम वा गतिविधि नहुनुलाई दुःखद पक्ष भएको मान्छन् । ‘हामी धरानेहरु पर्यटनको अग्रणी सहर मान्छौं,तर विश्व पर्यटन दिवसलाई भुल्छौं । आजको दिन कुनै गतिविधि नहुनु दुःखद कुरा हो,’वरालले भने । उनका अनुसार सेक्षले बिहिबार नौलो खालको दृष्य चित्रकला कार्यशाला आयोजना गर्न खोजेपनि कलाकारहरुको ब्यस्तताले उक्त कार्यक्रम शनिबार मात्र हुनेछ ।
स्थानीय तह निर्वाचन पछि बनेको स्थानीय सरकारले पनि पर्यटनलाई प्राथमिकता दिएको छ । गत बर्ष पर्यटन विकास समिति पनि गठन गरिएको छ । समितिले पुर्वाधार विकासमा जोड दिइरहदा आज विश्व पर्यटन दिवस मनाउन भने कुनै कार्यक्रम राखेको छैन । समितिका सहसंयोजक किसोर थुलुङ एसियाली विकास बैंक(एडिबि)ले कोशी इकोनोमिक करिडोरबारे आयोजना गरेको अन्र्तक्रियामा निरन्तर ब्यस्त हुनुपर्दा कार्यक्रम गर्न नभ्याएको बताए । उनले भने,‘एडिबिको कोशी इकोनोमिक करिडोरको प्लानिङमा ब्यस्त छौं, त्यसमा पर्यटन पनि पर्छ । धरान, इटहरी, विराटनगर, भेडेटारलाई कसरी चिन्ने भनेर छलफल हुदैछ । त्यसैले पर्यटन दिवसमा कोही गर्न भ्याइएन ।’
सुनसरी उद्योग वाणिज्य संघका सचिव एवं पर्यटन उपसमितिका संयोजक महेन्द्र प्रधान पर्यटन दिवस मनाउन राज्यको पनि प्रमुख दायित्व भएकोले संयोजनकारी भुमिका खेल्नुपर्ने औल्याउछन् । स्थानीय तहमा पर्यटन समिति पनि गठन भएकोले उसले संयोजनकारी भुमिका खेल्न नसक्दा कुनै गतिविधि नभएको उनले बताए । ‘अरु त सरोकारवालाहरु मात्र हो, प्रमुख दायित्व त राज्यको थियो । पर्यटन समिति छ, बजेट पनि करोड बढी छ,’प्रधानले भने,‘पर्यटन दिवसमा केही कार्यक्रम, गतिविधि नहुनु दुःखको कुरा हो ।’ धरानको साइक्लिङ, प्याराग्लाइडिङ, र्याफ्टिङलगायत साहसिक खेल पर्यटन सम्बद्ध एक्स्ट्रीम धरानका सचिव रामप्रसाद राई पनि बिहिबारको लागि कुनै कार्यक्रमहरु तय नभएको बताउँछन् । उपमहानगरपालिकाअन्र्तगतको पर्यटन समितिले सबैलाई समेटेर वृहत कार्यक्रम गर्न सकेको भए उपलब्धीमुलक हुने उनको धारणा थियो ।