धरान : पर्यटन प्रर्वद्धन गर्न भन्दै करिब चार बर्षअघि सरोकारवाला एवं पर्यटनकर्मीहरुको गोष्ठीले धरानका विभिन्न ९ वटा पर्यटकीय गन्तव्यहरु(नाइन पोइन्ट) छनौट गरिएको थियो । गोष्ठीबाट ९ गन्तव्य छानिएपछि धरानको पर्यटनले गति लिने अपेक्षाले यहाँका पर्यटनकर्मीहरु निक्कै उत्साहित भएका थिए । तर, यतिका बर्ष बितेपनि न नाइन पोइन्टले पर्यटकहरुलाई आकर्षित गर्न सक्यो, न नाइन पोइन्ट धरानको पर्यटन प्रडक्ट नै बन्यो ।
सुनसरी पर्यटन प्रर्वद्धन समितिको पहलमा २०७२ साउनमा धरानको नाइन प्वाइन्ट छनौट गरिएको थियो । धरान आएका पर्यटकहरुलाई एकीकृत प्याकेजकोरुपमा बिक्री गर्ने उद्देश्यले गन्तव्य(प्वाइन्ट) निर्धारण गरिएको थियो । धरानका नौ पर्यटकीय गन्तव्य छनौट हुदा केही समय चर्चा भए पनि विस्तारै सेलायो । ती गन्तव्यहरुलाई प्याकेजकोरुपमा यहाँका व्यावसायीहरुले बेच्न सकेका छैनन् । समितिका सचिव एवं सेक्ष ट्राभलिङ सम्बद्ध पर्यटनकर्मी वासुदेव वराल ती गन्तव्यहरुलाई प्याकेज बनाएर बिक्री गर्ने निकाय(व्यावसायी)हरुको अभावले ओझेलमा परेको बताउछन् । ‘नाइन पोइन्ट नचल्ने होइन, तर पर्यटन व्यावसायीहरुले प्याकेज बनाएर बेच्न सकेको छैनौं,’बराल भन्छन्,‘अब पर्यटन सिजन शुरु भएको छ, हामी केही गछौं ।’
विश्वभर पर्यटकहरुलाई गन्तव्यहरुको प्याकेज बनाएर घुमाउने प्रचलन छ । समितिले पुर्वीउत्तर भारतमा बोर्ड सिटि प्रोमोशन र वंगाल ट्राभल मार्टमा गएर नौ गन्तव्यसँगै पुर्वका पर्यटकीय गन्तव्यहरुको पनि प्रर्वद्धन गरेको थियो । केही महिनाअघि नाइन पोइन्टको प्याकेज बिक्री गर्न सेक्षले स्कुटी गाइडको नयाँ अवधारणा ल्याएको थियो । युवतीहरुले पर्यटकहरुलाई स्कुटरमा नाइन पोइन्ट घुमाउने अवधारणा सार्वजनिक हुदा निक्कै चर्चा बटुल्यो । तर, पर्यटकहरुलाई आकर्षित गर्न भने सकिरहेको छैन । सुनसरी पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष एवं सुनसरी उद्योग वाणिज्य संघका महासचिव शिवराज श्रेष्ठ यहाँ व्यावसायीहरुले पर्यटनलाई मुख्य पेशा बनाउन नसक्नु नै समस्या मान्छन् । निजी क्षेत्रले पर्यटनमा लगानी गरेर नेतृत्व नलिएसम्म सरकारी लगानीको आशाले मात्रै पर्यटनको विकास नहुने उनको ठम्याई छ ।

के के छ नाइन पोइन्टमा ?

धरानको नाइन पोइन्टमा ऐतिहासिक विजयपुरगढीमा अवस्थित बुढासुब्बा, पिण्डेश्वर र दन्तकाली मन्दिर समावेश छ । तीनकुने जंगलमा अवस्थित शनि मन्दिर, धरान ५ स्थित गीता मन्दिर, भानुचौकस्थित घण्टाघर, धरान १६ स्थित इस्कोन मन्दिर, धरान १८ स्थित विपि प्रतिष्ठान र गल्फ मैदान पनि धरानका महत्वपुर्ण नौ गन्तव्यमा समेटिएको थियो । छनौट भएका ९ गन्तव्य मध्ये बुढासुब्बा, पिण्डेश्वर, दन्तकाली धार्मिक पर्यटकीय हिसाबले धरानको मुख्य गन्तव्यमा पर्छ । शनि मन्दिर र इस्कोन पनि पछिल्लो समय चर्चामा छ । यस्तै, चिकित्सा विज्ञान(शिक्षा) र स्वास्थ्य उपचारको केन्द्रकोरुपमा बीपी प्रतिष्ठानको ख्याती छ भने प्रतिष्ठान अन्र्तगतको गल्फ मैदान खेल र प्राकृतिक सौन्दर्यले पर्यटकहरुलाई लोभ्याउछ । धरानको भानुचोकमै उभिएको घण्टाघर पर्यटकहरु प्रवेश नगरी फर्कदैनन् । छनौट भएका यी नौ गन्तव्यहरु पुर्वाधार, सहज पहुच र सुरक्षाको दृष्टिले पनि पर्यटकमैत्री छन् ।

dharan

धरान-भेडेटार सडकखण्डबाट देखिएको धरानको सुन्दर दृष्य ।

buddasuba

विजयपुरगढीस्थित बुढासुब्बा मन्दिर ।

pandesori

विजयपुरगढीस्थित पिण्डेश्वर मन्दिर ।

danta  kali

दन्तकाली मन्दिर ।

golf

निर्वाणा गल्फ कोर्ष ।