ब्लाष्ट टाइम्स :धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “मलको चरम अभाव” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सरकारी सुस्तताका कारण कृषकहरुले यो समयसम्म पनि मल प्राप्त गरेका छैनन् । झापा,मोरङ,सुनसरी धानको पकेट क्षेत्र हो । यहाँको उत्पादनले प्रदेश १ लाई करिब –करिब धान्ने गरेको छ । झापामा युरिया मलको अभावमा धान नफल्ने भयो, झापाको अर्जुनधारा–९ का किसान गणेश बुढाथोकीले भने, पोटाउन थालेको धान पसाउन सकेको छनै, रातो भएर बिग्रिन थालेको छ । उनले भने अबको १० दिनभित्रमा युरिया हाल्न नपाए सोचेकोजस्तो उत्पादन नहुने दाबी गरे ।


पूर्वी बजार : इटहरीबाट प्रकाशन हुने पूर्वी बजार दैनिकले “इटहरीमा बढ्दैछन् लागुऔषध कारोबारी ४ महिनामा २७ जना पक्राउ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सडक सञ्जालको आधारमा प्रदेश १ को केन्द्रको रुपमा रहेको इटहरी लागुऔषध कारोबारी र प्रयोगकर्ताहरुको पनि हब बन्दै गरेको देखिएको छ । पछिल्लो ४ महिनामा इटहरी प्रहरीले पक्राउ गरेका लागुऔषध प्रयोगकर्ता र कारोबारीको सङ्ख्याले यस्तो देखाएको प्रहरीको भनाइ छ । यस वर्ष जेठ ५ गतेदेखि भदौ मसान्तसम्ममा मात्रै २७ जना लागुऔषध मुद्दामा पक्राउ परेका छन् । यसमा १ जना महिला र बाकीँ सबै पुरुष भएको प्रहरीले तथ्याङ्कले देखाएको छ । पक्राउ परेका २७ जनामा ४ जनालाई प्रहरीले घरपरिवारसँगको सहकार्यमा सुधार केन्द्रमा पठाएको छ । बाँकीलाई भने मुद्दा चलाइएको प्रहरीको भनाइ छ ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “रात्रीकालीन बजारमा सुरक्षाको चिन्ता” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । इटहरी उपमहानगरपालिकाले इटहरीको आइतबारे देखि टेलिकमसम्म रात्रीकालीन बजार लगाउने भएपछि यहाँका व्यापारीहरु उत्साहित बनेका छन् । इटहरी उपमहानगरपालिकाको ३० औं कार्यपालिकाको बैठकले इटहरीमा रात्रीकालीन बजार लगाउने निर्णय गरेसँगै यहाँका व्यापारीहरु उत्साहित बनेका हुन् । यहि दशैं र तिहारको बीचमा रात्रीकालीन बजार लगाउन सुरु गर्ने भएसँगै व्यापारीहरु हर्षित बनेका हुन् । व्यापारीहरु उत्साहित बनेसँगै उनिहरुले सुरक्षाको चिन्ता बढेको पनि बताएका छन् ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “शुरु भयो सरकारको कार्यशैलीप्रति खटपट” शीर्षकको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ । सरकारको कार्यशैलीलाई लिएर प्रमुख प्रतिपक्षी मात्र होइन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) का सांसद नै रुष्ट बनेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने ने.क.पा सांसद विरोध खतिवाडले सरकारको कार्यशैलीका कारण मुख देखाएरै हिँड्न लाज भएको बताए । ‘माफिया’ को माग अनुसार भन्सार शुल्क बढाएर नपुगेर चिनी आयात रोकेर मुल्य वृद्धि गरिएको भन्दै उनले आपत्ती समेत जनाए । निकै आक्रोसित मुद्रामा प्रस्तुत भएका खतिवडाले निजगढ विमानस्थलको प्रसङग समेत उठान गरे । त्यसै गरी बरिष्ठ नेता एवम सांसद माधव कुमार नेपालले सरकारको कडा आलोचना गरेको छन् । देश डुब्नै लाग्यो, माझी छौ कोहि भन्दै ब्याङ्ग गरेका छन् ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “प्रदेशको राजधानी एकै ठाउँमा नहुने ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को राजधानी एकै ठाउँमा नहुने बताएका छन् । संघीयताको मर्म र भावनाको कदर गर्दै सबै मन्त्रालय, प्रदेशसभा कार्यपालिकाका कार्यालयहरु फरक–फरक जिल्लामा राख्ने बताएका हनु् । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा बिहिबार धनकुटामा भएको स्वास्थ्य निर्देशनालय र शिक्षा विकास निर्देशनालय स्थापना तथा उद्घाटन कार्यक्रमा यस्तो बताएका हुन् ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “मुआब्जा विवादले मेचीपुल निर्माण अवरुद्ध” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सरकारले मुआब्जा समस्या नटुंग्याउँदा काँकरभिट्टास्थित नेपाल– भारत सीमाको मेची नदीमा पुल निर्माण कार्य अवरुद्ध भएको छ । भारततिर पर्ने भागमा भने निर्माण भइरहेको छ । पुलमा सडक जोड्न नेपाली भूभागमा पर्ने बस्ती मेचीडाँडा हटाउनुपर्छ । तर, सरकारले बस्ती हटाउन स्थानीयलाई मुआब्जा वा क्षतिपूर्ति दिने निर्णय नगर्दा काम अवरुद्ध भएको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताए । सो ठाउँमा ४४ घरपरिवार छन् । मेची डाँडाका बासिन्दाले पुनस्र्थापनाको काम नटुंगिँदासम्म पुल निर्माण प्रक्रिया अघि बढाउन नदिने बताए । ‘हामी छोड्दैनौँ भन्दैनौँ, छौड्छौँ, तर सरकारले उचित मुआब्जा दियोस, मेचीडाँडाका भूपध्वज दाहालले भने ।