ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “सुन–पसलमा सर्वसाधारणको करोडौं रकम जोखिममा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । उच्च ब्याजको लोभमा सर्वसाधारणले सुन पसलहरुमा राखेको करोडौं रकम डुब्ने खतरा बढेको छ । एकपछि अर्को सुन पसलहरु धमाधम भाग्न थालेपछि बचतकर्ताहरुको करोडौें रका डुब्ने खतरा बढेको हो । सुन–चाँदी व्यावसायका नाममा अवैध वित्तीय कारोबार गर्दै आएका सुन पसलेहरु करोडौं रकम लिई फरार भएपछि सर्वसाभारण चपेटामा पर्न थालेको हुन् । यसबारे प्रहरी प्रशासन पनि बेखबर बनेको छ । बचतकर्ताहरुको रकम फिर्ता नगरी सुन पसलका सञ्चालकहरु फरार भएका कारण बचतकर्ताको घरबार बिग्रिन थालेको छ । एक सातायता मात्र इटहरी चौक आसंपासको दुईवटा पसलका सञ्चालकहरु भागे पनि प्रहरी प्रशासनले कानून बाधक भएको भन्दै कारबाही अघि बढाएको छैन ।


पूर्वी बजार : इटहरीबाट प्रकाशन हुने पूर्वी बजार दैनिकले “प्रदेशकै एक्ली सरकार प्रमुख भन्छिन् ,‘कुर्सीमा कसरी बस्नुभयो भन्दै हेर्न आउँथे’ शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । प्रदेश १ की एक मात्र स्थानीय सरकार प्रमुख हुन् मेनुका काफ्ले । गत वर्ष भएको स्थानीय तहको चुनावमा प्रदेश नं १ मा स्थानमा महिलाले प्रमुख पदमा उमेद्वारी पाएका थिए । त्यसमध्ये महिलातर्फ उनीमात्रै विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी लाई हजारभन्दा बढी मतान्तरले हराएर उनले इतिहास बनाउन सफल भइन् । महिला भएर जन्मनु अपराधसरह मानिने समाजमा महिलालाई नेतृत्व तहमा पुर्याउनु चानचुने कुरा थिएन । पार्टी राजनीतिमा भूमिगत भएर लागेकी काफ्लेले जनप्रतिनिधि निर्वाचित हुने समयमा आएका चुनौतीहरुलाई पनि खासै ठूलो मानिन् । राजनीतिमा असहजता स्वाभाविक हो । भन्ने बुझाइले उनलाई थप ऊर्जाशील बनाइरह्यो । राजनीतिलाई समाजसेवाको पराकाष्ठको रुपमा बुझेकी उनका लागि निर्वाचित जनप्रतिनिधि बन्नु ठुलो अवसर भयो ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “करवृद्धि बारेमा आलटाल गरियो” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । धरान उपमहानगरपालिकाले करवृद्धिको विरोधमा भएको आन्दोलनलाई सम्बोधन गर्ने भनि गठन गरेको कार्यदलले सुझाव सहितको प्रतिवेदन बुझाएको महिना वित्न लाग्दा पनि समस्यालाई निकास दिन आलटाल गर्दै आएको संयुक्त सर्वदलिय संघर्ष समितिले आरोप लगाएको छ । समितिले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै अत्याधिक रुपमा वृद्धि गरिएको कर घटाएर समस्या समाधान नगर्ने हो भने अब आन्दोलनको अर्को र चर्को रुप थेग्न तयार भएर बस्न उपमहानगरपालिका नेतृत्वलाई चुनौति दिएको छ ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “दन्तचिकित्सकको राष्ट्रिय सम्मेलन सुरु” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दन्तचिकित्सकहरुको राष्ट्रिय भेला सुरु भएको छ । शुक्रबारदेखिदन्तचिकित्सकहरुको छाता संगठन नेपाल डेन्टल एसोसिएसनको आयोजनामा १९ औं राष्ट्रिय सम्मेलन धरानमा सुरु भएको हो । तीनदिनसम्म चल्ने सम्मेलनको मुख्य एजेण्डा पहुँच नपुगेकाहरुमा मुख स्वास्थ्य उपचार सेवा पुर्याउने रहेको छ । आयोजना गर्ने समितिका उपाध्यक्ष डा. प्रभातरञ्जन पोखे्रललका अनुसार दन्तरोगको उपचार महंगो पर्ने भएकाले सरकारले लागु गरेको सामाजिक स्वास्थ्य विमा कार्यक्रममा विमितलाई ५० हजार रुपैया बराबरको उपचार गर्न सकिने निति बनाएको छ ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “२० वर्ष नपुग्दै तीनपटक गर्भपतन” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । एक छात्रा काठमाडौंकै एक कलेजमा स्नातक तेस्रो वर्षमा अध्यानरत छिन् । थापाथलीस्थित प्रसुतिगृहमा केही समयअघि भेट हुँदा उनी गर्भपतनका लागि गएकी थिइन् । अविवाहित उनले केटा साथीले गर्भनिरोधक साधन प्रयोग गर्न नमानेकाले गर्भ रहेको बताइन् । उनी मात्र होइन् , प्रसुति गृहमा दिनहुँजसो स्कुल–कलेजका किशोरी असुरक्षित सम्बन्धपछि रहेको गर्भ फाल्नका लागि जाने गरेका छन् । साथै उनीले आफूले तेस्रो पटक गर्भपतन गर्न आएको बताएकी थिइन् । उनले भनिन् तीनैपटक फरकफरक ठाउँमा गर्भपतन गराएँ एकै ठाउँमा जान अप्ठा्यारो लाग्यो । नेपालमा प्रतिवर्ष १ लाख ८६ हजार १ सय ४४ महिला तथा किशोरीले गर्भपतन गर्ने गरेको तथ्यांक छ । यस तथ्यांकलाई आधार मान्दा हरेक महिला १५ हजार ५ सय १२ , प्रतिदिन ५ सय २० र प्रतिघण्टा २१ महिला तथा किशोरीले गर्भपतन गरिरहेका छन् ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुन विवेचना दैनिकले “ विद्यार्थीलाई प्रयोगात्मक ‘कृषि खेती’ ” शीर्षकको समाचारलाई मुख्य समाचार छापेको छ । विद्यार्थीलाई पाठ्यसामग्रीको व्यावहारिक शिक्षा दिन झापा दमकको एक निजी विद्यालयले प्रयोगात्मक शिक्षा दिन थालेको छ । दमक–९ स्थित झापा मोडल अंग्रेजी बोर्डिङ स्कुल (जेम्स) ले विद्यार्थीलाई कृषि खेतीका बारेमा प्रयोगात्मक कक्षा सुरु गरेको हो । विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठका अनुसार विद्यालयले पहिलोपटक कृषि, पेशा, व्यवसायका पाठ्यसामग्रीलाई व्यावहारिक रुपमा शिक्षा दिने प्रयोगात्मक कक्षा सञ्चालन गरेको छ । कक्षा ६, ७ र ८ का विद्यार्थीलाई कृषिसम्बन्धी प्रयोगात्मक शिक्षण सिकाइ सञ्चालन गरिएको प्रिन्सिपल श्रेष्ठले जनाएका छन् । यसै शैक्षिक सत्रदेखि विद्यालयले अढाइ कठ्ठा जग्गा लिजमा लिएर प्रयोगात्मक कृषि शिक्षण सुरु गरेको हो । प्रिन्सिपल श्रेष्ठले माध्यमिक तहमा पेशा, व्यवसायसम्बन्धी पाठ्यसामग्री समावेश भएकाले त्यससम्बन्धी व्यावहारिक शिक्षा दिने उद्देश्यले यस्तो नौलो कार्यक्रम सुरु गरिएको जानकारी दिए ।