ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “बजार–मूल्य बढ्यो, उपभेक्ता मारमा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा टापेको छ । कमल गाँउपालिका वडा नं. ५ निवासी सुजिता चौहान राउत दमक बजारमा भेटिइन् । उनका दुवै हातमा झोला नजिकिँदै गरेकोदशैंका लागि किनमेल गर्न बजार आएको उनले बताइन् । उनीसँगै परिवारका अन्य सदस्य पनि बजार आएका थिए । दशैंमा अन्य काममा पनि व्यस्त हुने भएकाले अहिले नै किनमेल गर्न बजार आएको उनले बताइन् । तर केही दिनपहिले आएर खरिद गरेको मूल्य र अहिलेको बजार मूल्यमा भने उनले फरक पाएको प्रतिक्रिया दिइन् । खै दशैंको बेलाले हो कि बजार मूल्य बढेको छ, सुजिताले भनिन् हामी निम्नवर्गका नागारिक यसरी चाडबाडकै बेलामा हुने मूल्य वद्धिले मारमा पर्ने गरेका छौ ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “भैंसीमा ठोक्किएर गम्भिर दुर्घट्ना” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । धरान–इटहरी सडक खण्डको तरहरा पानी पिया जंगलमा बिहिबार बेलुका ६ बजे धरान– १६ हेन्थाम चौकका तिर्थराज लिम्बु मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते अवस्थामा अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई रहेका छन् । उनको पाखुराको हड्डी खुस्कीएको छ र नाडीको हड्डी भाँच्चिएको छ । सामान्यतया साझँको बेला भएको दुर्घटनाका बारेमा मानिसले विभिन्न अडकल लगाउँछन् । जंगलको बाटोमा पहिलो कुरा गाडिको गति तिब्र भएको, ठूला गाडिले साइड नदिदाको वा ओभरटेक गरेका कारण प्रया दुर्घटना हुने गरेको छ । तर, उनको दुर्घटना भने फरक कारणले भएको हो । लिम्बुको रोयल ईनफिल्ड ३५० सिसिको मोटरसाइकल भैसीमा ठोक्किदा उनी गम्भिर घाइते भएका हुन् ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “४ जनाको आमालाई साहुले गरे बलात्कार” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । चार सन्तानाकी आमा उनका श्रीमानले केही वर्ष पहिले आत्महत्या गरे । त्यसपछि माइतीको शरणमा पुगेकी उनलाई साहुले पटकपटक बलात्कार गरेको बताइन् । हालै मात्र उनले छोरालाई जन्म दिएपछि झन् समस्यामा परेकी छन् । दलित समुदायकी उनले आफूलाई मालिकले पटकपटक बलात्कार गरेको दाबी गरेकी छिन् । पटकपटक बलात्कार गरिएपछि उनी गर्भवती बनिन् । गाँउकै जमिन्दार ओमप्रकाश यादवले बलात्कार गरेको उनको दाबी छ । सुरुमा आफूलाई स्वीकार गर्ने बताएको तर, बच्चा जन्मिएपछि अस्वीकार गरेको उनले बताइन् । अहिले आफूलाई बाँच्न र खान समेत समस्या भएको बताउँछिन् । उनको केहि वर्ष अघि सुनसरीको इनरुवाका एक युवासँग विवाह भएको थियो । तर उनले आत्महत्या गरेपछि समस्यामा परिन् । उनको तीेन छोरी एक छोरो छन् ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “प्रदेश राजधानीबारे चिन्ता” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । १ नम्बर प्रदेशको अस्थायी राजधानी भएको विराटनगर स्थायी हुने बेलामा संकटमा पर्न लागेको छ । प्रदेश सभाबाट दुई तिहाईले टुंगो लगाउनुपर्ने स्थायी राजधानीको विषयमा जिम्मेवार निकायबाट आएका भनाईले राजधानी अन्तै जानेमा विराटनगरवासीले चासो राखेका छन् । अस्थायी राजधानी बनाउने बेलैमा तानातानका बीच विराटनगर १ नम्बर प्रदेशको अस्थायी राजधानी तोकिएको थियो । अस्थायी राजधानीकै लागि राज्यको करौडौं लगानी भइसकेको र एउटा लय समातिसकेको अवस्थामा राजधानीका विषयमा फेरि विवाद झिक्नु उपयुक्त नभएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे बताउँछन् ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “ नेपालमा साइबर हमलाको जोखिम बढ्दो” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । पछिल्लो समय नेपालमा साइबर क्राइम बढ्दो छ । हाल आएर साइबर अपराधीको आँखा देशभित्रका ठुला उद्योग र सरकारी वेबसाइटमा पर्न थालेको छ । नेपालको एनआइसी एसिया बैंकको साढे ४६ करोड रुपैयाँ ह्याक गरेर चोरी गर्ने उत्तर कोरियाली गुप्तचर निकायले चलाएको ह्याकर समूह लजारुस ग्रुपले पुनः भारतमा पनि करोडौँ रुपैयाँ चोरी गरेपछि यसको खतरा अझै बढेको छ । गत अगस्ट १० देखि १३ सम्म तीन दिनको अवधिमा लजारुस ग्रुपले बैंकको स्विफ्ट ह्याक गर्दै ९४ करोड भारतीय रकम चोरी गरेको त्यहाँका सञ्चारमाध्यममा समाचार संप्रेषण भएको छ । यो विषयमा अमेरिकी संघीय जाँचबुझ ब्युरो (एफबिआई) ले रकम चोरी हुनुअघि नै भारतीय बैंकलाई सचेत गराए पनि आवश्यक सतर्कता नअपनाउँदा चोरी भएको ती सञ्चारमाध्यममा जनाएका थिए । भारतको पुणे मुख्यालय रहेको कसमस बैंकबाट ९४ करोड भारतीय रुपैयाँ चोरी गरेपछि यसको खतरा सार्क राष्ट्रमै बढेको छ ।