लहान : गोलबजार नगरपालिका–३ मा हत्या गरिएका हेमबहादुर ब्लोन तामाङको हत्यारा पत्ता लगाउन नसकेको भन्दै स्थानीयले प्रहरी कार्यालय घेराउ गरे । अपराधी पत्ता लगाउन नसकेको भन्दै प्रहरी कार्यालय घेराउ गरिएको जिल्लामै यो पहिलो घटना थियो । सुरक्षा व्यवस्था सुव्यवस्थित बनाउन प्रहरी गम्भीर बनोस् भन्दै गोलबजारवासीले प्रहरीलाई गम्भीर बन्न दबाब दिएका थिए । प्रहरी सामाजिक सुरक्षाभन्दा पनि अन्यत्र ध्यान केन्द्रित गरेकोले अपराधका घटना बढेको जिल्लावासीले गुनासो छ । कारण हो सिरहामा पछिल्लो समय अपराधका घटना शृंखलाबद्ध हुनु । जसले यहाँका नागरिकलाई त्राससँगै आक्रोश बढाएको छ । शनिबार बिहान करिब २ बजेतिर इलाका प्रहरी कार्यालय लहान अगाडीको हाम्रो मोबाइल पसलमा चोरी भयो । पसलको सटर फोडेर करिब १५ लाखको मोबाइल चोरी भएको पसल सञ्चालक धनञ्जय गुप्ताले जानकारी दिए । पसल इलाका प्रहरी कार्यालयको अगाडी उत्तरमा छ । चोरको समुहले सटर फोडेर चोरी गर्दो नजिकै रहेको प्रहरीले सुइँकोसम्म नपाउनुले यहाँको सुरक्षा व्यवस्थालाई गिज्याएको स्थानीयले आक्रोश पोखेका छन् । इलाका प्रहरी कार्यालयबाट २० मिटर सामुन्ने दूरीमै रहेको पसलमा चोरी हुनु लज्जाको विषय भएको बताउँदै स्थानीय अशोक स्वर्णकारले यो घटनाले नगरवासीमा आफूहरु असुरक्षित रहेको प्रत्याभूत भएको बताए । इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले चोरी गर्ने समुहको खोजी भइरहेको जानकारी दिए ।
नागरिक पूर्वेली संस्करणबाट