धरान : भानुचोकमा कोही पैदल यात्रु देख्यो कि यातायात मजदुरहरु कता जाने भन्दै घेरा हाल्छन् । कसैले झोला तान्छन, त कसैले मान्छेलाई नै तानेर लैजान्छन् । दैनिक जसो देखिने यो दृष्यले धरानको छविलाई पनि धुमिल बनाइरहेको थियो । यातायात मजदुरहरुको यही व्यवहारमा परिवर्तन ल्याउन आइतबार धरानमा पर्यटन प्रर्वद्धन तथा सडक दुर्घटन न्युनीकरण कार्यक्रम आयोजना भयो । धरान उपमहानगरपालिकाको सहयोगमा यो कार्यक्रम नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले आयोजना गरेको थियो । कार्यक्रममा सहभागी ३ सयको हाराहारीमा मजदुरहरुलाई पर्यटनमैत्री व्यवहार गर्नेबारेमा चेतनामुलक प्रशिक्षण गराउनुका साथै मुलुकी अपराध संहिताले गरेको व्यवस्थाबारे पनि जानकारी गराइएको थियो । यस्तै, सडक दुर्घटना न्युनीकरणबारे पनि मजदुरहरुलाई जानकारी गराइएको थियो । मजदुरहरुलाई धरान उपमहागनरका पर्यटन विकास समितिका सहसंयोजक किसोर थुलुङले यात्रुहरुसँग कस्तो व्यवहार गर्ने, कसरी बोल्ने, पर्यटन के हो भन्नेलगायतका बिषयमा जानकारी गराएका थिए । पर्यटकहरुको पहिलो भेट नै यातायात मजदुहरुसँग हुने भएकोले पर्यटनमैत्री व्यवहार नहुदा नराम्रो छवि पुग्ने र पर्यटकहरु दोहोर्याएर नआउने भएकोले यातायातकर्मीहरु सबै पर्यटकमैत्री हुनु आवश्यक भएको थुलुङले बताए । उनले भने,‘पहिलो भेट नै यातायात मजदुरहरुसँग हुन्छ, उनीहरुले नै राम्रो बोली, व्यवहार गरिदिएनन् भने पर्यटकमा नराम्रो प्रभाव पर्छ, र समग्र पर्यटनमा नै असर पुग्छ ।’ आयोजक संगठनका केन्द्रीय अध्यक्ष भिम राई ज्वालाले मुलुकी अपराध संहिताबारे मजदुरहरुलाई जानकारी गराउदै चालक जेल जान्छ भन्ने झुटो अफवाह फैलिएको जानकारी गराए । केही दिनअघि पुर्व क्षेत्रमा दुर्घटनामा कसैको ज्यान गए चालक जेल जाने भन्दै बन्द गरिएको थियो । ‘त्यो भ्रम हो, त्यसलाई चिर्न पनि कार्यक्रम गरिएको हो,’उनले भने । संगठनका धरान अध्यक्ष कमल भटराईको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेता प्रकाश राईले पनि मन्तव्य राख्दै कार्यक्रम महत्वपुर्ण भएको बताए ।

1 120 3 16