ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “पैसाको लागि साथीको हत्या” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । पैसाका लागि आफ्नै साथीबाट विराटनगर–१७ का मोहम्मद अस्फाक आलमको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले हत्यामा संलग्न सोही ठाँउका मोहम्मद सद्दिन हुसेन र मोहम्मद आरिफ पक्राउ गरेपछि रहस्य बाहिरिएको हो । पक्राउ परेका दुवैजना अस्फाकका छिमेकी हुन् । विराटनगर–१५ मा मोबाइल पसल सञ्चालन गर्ने मोहम्मद आरिफ अस्फाकको मिल्ने साथी हुन् । मोरङ प्रहरीले हत्याका आरोपिहरुलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजाविक गरेको छ । बजार जाने भन्दै असोज १ गते घरबाट निस्किएका अस्फाकको हत्या सोही दिनको राति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “बिपीमा ठप्प अध्ययन प्रति विभिन्न संगठनको ध्यानाकर्षण” शीर्षकको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको चालु शैक्षिक सत्रको एमडी र एमएस तहको अध्यापन कार्य रोकिएको छ । विद्यार्थी भर्ना भएको तीन महिनासम्म पनि अध्यापन सुरु नभएपछि विभिन्न संघसंगठनले ध्यानकर्षण गरेका छन् । पठन पाठन रोकिएको विषयमा प्रतिष्ठान अन्तर्गतको जुनियर रेसिडेन्ट वेलफेर सोसाइटी, गैरसरकारी चिकित्सकहरुको संस्था नन गोभरमेन्ट डक्टर्स एसोसिएन, डक्टर्स सोसाइटी अफ नेपाल, सरकारी चिकित्स संघ नेपाल लगायतका संस्थाले ध्यानकर्षण गरेका छन् । उनीहरुले छुटाछुटै विज्ञप्ति निकालेर पठन पाठन छिटो सुरु गर्न माग गरेका छन् ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “टेम्पोवालहरु भाडा दरप्रति असन्तुष्ट” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । आन्तरिक सवारीको साधन तीन चक्के टेम्पोको भाडा प्रतिव्यक्ति ३० रुपैयाँ महंगो भएको गुनासो आएपछि धरान उपमहानगरपालिकाले टेम्पोवालहरु सहितको भेलामा कायम गरेका नयाँ भाडादरप्रति टेम्पोवालहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले इन्धनको मुल्य वृद्धि, बैंकको ब्याज लगायतका कारण टेम्पोको नयाँ भाडा दरले यात्रु बोक्न नसकिने बताउँदै भाडादरमा पुनर्विचार नभए धरानका १२ सय टेम्पो उपमहानगरपालिकामा बुझाएर आन्दोलन गर्ने बताएका छन् ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “विकल्प खोजे संघर्ष” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । प्रदेश सरकारले स्थायी राजधानी र नामांकनको तयारी सुरु गर्दै गर्दा राजधानी सार्ने हल्लाले विराटनगर तातेको छ । मुख्यमन्त्री शेरधन राई नै घुमाउने पारामा विराटनगरबाट राजधानी सार्ने योजनामा लागेको भन्दै विराटनगरको नागरिक समाजले खबरदारी थालेको छ । प्रदेश सरकारले जनताको सहजताका लागि एकैठाउँ राखिनुपर्ने संरचना विकेन्द्रीकरण गरी राजधानीका कार्यालयहरु जिल्ला जिल्लामा बाँड्ने तयारी थालेको छनक पाएपछि नागरिक समाजको अगुवाईमा नगरबासीले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।