धरान : धनकुटाको साँगुरीगढी गाउँपालिका १०,आहालेबाट धरानको मंगलबारेतर्फ आउदै गरेको महेन्द्र पिकअप दुर्घटना हुदा २ को घटनास्थलमा मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइते बसैको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । घाइते यात्रुहरुका अनुसार घटना करिब सवा ९ बजेतिरको हो । वडा १० बाट गाडी छुटेको करिब आधा घण्टापछि वडा नं ९ लेखाटोलमा को १ ज १८२१ नम्बरको पिकअप दुर्घटना भएको थियो । घटनास्थलमा वृद्धा करिब ६१ बर्षीय देवीमाया सुनुवार र ३९ बर्षीय सनमाया राईको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उद्दार गरेर धरान ल्याइपुर्याउन करिब २ घण्टा समय लागेको थियो । धनकुटामा दुर्घटना भएपनि आहालेबाट नजिकको सहर धरान नै पर्छ ।

2


प्रतिष्ठानको आकस्मिक कक्षस्थित प्रहरी विटका इञ्चार्ज सई तिलक गिरीका अनुसार एक बालकसहित १५ जनाको उपचार भइरहेको छ । घाइतेहरुमा ६ बर्षीय युवक राई, सुनिसा राई, काशीराम राई, सनम राई, चन्द्रमाया राई, लक्ष्मण राई, चन्द्रकला राई, पञ्चमाया राई, सन्दिप राई, मित्र राई, फुलमाया राई, सविना राई, श्यामकुमार लिम्बु, रविन राई र सुखमाया राइ रहेका छन् । घाइते लक्ष्मण राईका अनुसार तेस्रो बाटोमा घुम्ती आएपछि गाडी दुर्घटना भएको हो । ‘बाटो गाह्रो थिएन, तेस्रो जस्तै नै थियो । तर स्पिड भएकोले घुम्तीमा खस्यो,’उनले भने ।
उपचार गराउन धरान झर्दै गरेकी मित्र राईले भिरबाट गाडी एक्कासी खसेको बताइन् । उपचार गराउन आएकी उनी दुर्घटनामा परेर थप थला परेकी छिन् । मृतक र घाइते सबै जसो एउटै गाउँका हुन् । ‘सबै नै एउटै गाउँका हौं, हाम्रो नजिकको सहर भनेकै धरान हो । सधै यही आउछौं,’उनले भनिन् ।

तस्बिर :  बीपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचाररत घाइतेहरु ।