धरान : प्रदेश नं १ को राजधानीको मुद्दा पेचिलो बनिरहेको बेला विराटनगरमा शुरु भएको नेपाल कम्प्युनिष्ट पार्टी(नेकपा)को संसदीय दलको बैठक भोली बिहानसम्मको लागि स्थगित भएको छ ।
विराटनगर महानगरपालिका ८, हाटखोलास्थित फन एण्ड फुड भिलेज रिसोर्टमा सोमबार दिउँसो करिब ३ बजेतिर शुरु भएको बैठकमा ४ जना सांसदहरुले धारणा राखेपछि भोली बिहान(मंगलबार)सम्मको लागि स्थगित भएको हो । सांसद उमिता वराइलीका अनुसार बैठकमा मुख्यमन्त्री शेरधन राई र नेकपाका प्रदेश इञ्चार्ज भीम आचार्यले सम्बोधन गरेपछि इलामका सांसद राम राना मगर र उदयपुरकी सुनिता चौधरीले बोलेका थिए । ‘आज ४ जना सांसदको मात्र बोल्नुभयो, बैठक मंगलबार बिहान साढे ७ बजेसम्मको लागि स्थगित भएको छ,’सांसद वराइलीले भनिन्,‘नेताद्धयले प्राविधिक कुरा गर्नुभएन, सैद्धान्तिकरुपमा समन्वयकारीढंगले कुरा राख्नुभयो । यो र यहाँ रहने भन्ने भएन ।’ प्रदेशको राजधानी विराटनगर राख्ने कि सार्ने भन्ने बिषय जनस्तरसम्म वहस छेडिदा सबैको ध्यान नेकपाको संसदीय दलको वैठकतर्फ सोझिएको छ । दुई दिने बैठक मंगलबारसम्म जारी रहनेछ । मध्याह्न १२ बजे शुरु हुने भनिएपछि बैठक ३ बजेपछि मात्र शुरु भएको थियो । बैठकले प्रदेश राजधानी र नामबारे टुंगो लगाउने बताइएको छ । अर्का एक सांसदका अनुसार मुख्यमन्त्री राईले वृहत विराट क्षेत्रको अवधारणा अनुसार धरान, इटहरी, विराटनगर, चतरासम्मको रिङरोडको अध्ययन पनि भइरहेकोले सोही अनुसार प्रदेश राजधानीको संरचना राख्ने बताएका थिए । ‘प्रदेश सरकारले नीति, तथा कार्यक्रम, बजेटमा नै वृहत विराट क्षेत्रको घोषणा गरेको र सोहीअनुसार डिपिआर बन्दै गरेको अवस्थामा कार्यपालिका, व्यवस्थापिका, प्रदेश प्रमुखलाई राख्ने भनेर मुख्यमन्त्रीको धारणा आएको छ,’ती सांसदले भने । इलामका सांसद राम रानामगरले धरान र इटहरीलाई पनि समेट्नुपर्ने मन्तव्य राखेका थिए ।

1 1


मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानीको संरचनाहरु अन्यत्र पनि सार्न लागेको भन्दै विराटनगरका उद्योेगी, व्यापारीहरुले आन्दोलनको तयारी गरिरदा नेकपाको संंसदीय दलको बैठक बसेको हो । बैठकमा नेकपाका प्रदेश इञ्चार्ज भीम आचार्य, मुख्यमन्त्री राईसहित प्रदेश सरकारका मन्त्रीहरु र सांसदहरु सहभागी छन् । प्रदेश सभामा स्पष्ट बहुमत रहेको नेकपाले चाहेमा विराटनगरबाट प्रदेश राजधानी सर्नसक्छ । प्रदेश सभा ९३ सदस्यीय छन् । जसमा नेकपाको मात्र ६७ जना प्रदेश सांसद छन् । तीमध्ये सभामुख र उपसभामुखलाई घटाउदा पनि ६५ जना छन् ।
अधिकांश नेकपाका सांसदहरु पनि प्रदेश राजधानी सार्नुपर्ने पक्षका छन् । त्यसैले गोप्य मतदान गर्ने हो भने राजधानी विराटनगरबाट अन्यत्र सर्ने पक्षमा बहुमतको मत खस्नेछ । ‘मतदात प्रक्रियामा जाने हो भने विराटनगर राजधानी हुदैन, वास्तविकता पनि यही हो कि विराटनगर उपयुक्त होइन,’ती सांसदले नाम नखुलाउन आग्रह गर्दै भने । यद्यपी सरकारमा रहेकै कतिपय नेकपाका मन्त्रीहरु पनि विराटनगरलाई नै राजधानी बनाउनुपर्ने पक्षका छन् । मुख्यमन्त्री राई भने वृहत विराट क्षेत्रको अवधारणामा विराटनगरदेखि धरानसम्म प्रदेश राजधानी करिडोर बनाउने मध्यमार्गी पक्षमा छन् ।