ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “बुढेसकालमा बेसहारा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । आफ्ना सन्तानका लागि लालन–पालन रातोदिन खट्ने अभिभावक बुढेसकालमा बेसहारा जीवन बाँचिरहेको हेर्न इटहरी पकलीस्थित रामजानकी मन्दिर गए पुग्छ । सन्ततीका लागि उमेर खर्चिएका उनीहरु अहिले आश्रमको सहारामा बाँच्न बाँध्य छन् । झुम्काकी ९३ वर्षीया लीलावती चौधरी अहिले सहाराविहीन बनेपछि आश्रममा बस्दै आइरहेकी छन् । उनको एक छोरा र छोरीका साथै नातिनातिना पनि छन् । तर , पनि बेसहारा जीवन व्यतित गरिरहेकी छन् । कति कष्ट खपेर सन्तान बढाँए, अहिले कसैले वास्ता गर्दैनन् उनले भनिन् । उनीमात्रै होइनन् , त्यहाँ घरबाट निकालिएका थुपै्र आमाहरु बस्छन् ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सप्तरीको कञ्चनपुर नगरपालिका ११ गोरपार कुजराही घर भई कानुनी लेखापढीको काम गर्ने व्यक्तिलाई सरकारी छाप किर्ते गरी फरार रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । मालपोत कार्यालय सप्तरीको नक्कली छाप समेत आÏनै घरमा राखेर विभिन्न सरकारी कागज पत्र किर्ते गरेको आरोपमा प्रहरीको खोजीको सुचीमा रहेका मोहम्मद हकिमका छोरा करिब ३१ वर्षीय मो सल्लम शेखलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “बिजुली आएपछि खुशी” शर्षिकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सुनसरीको हरिनगर गाउँपालिका ५ का ६० वर्षीय मधुसूदन मण्डलले अहिलेसम्म पनि आफ्नो घरमा बिजुलीको चिम बालेका थिएनन् । उनलाई अरु गाँउमा बिजुली बलेको हेर्दा आफ्नो गाँउमा पनि आउँछ भने आशा थिएन तर उहाँको बुढेसकालमा बिजुली बाल्ने रहर पूरा भएको छ । साविक सुनसरी क्षेत्र नम्बर ५ र अहिलेको सुनसरी क्षेत्र नम्बर ४ रहेको त्यस निर्वाचन क्षेत्रमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, उपेन्द्र यादव, जगदीशप्रसाद कुसियतलगायत नेता त्यसै क्षेत्रबाट विजय भएर विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेको भए पनि स्थानयिवासी बिजुलीबाट वञ्चित हुँदै आएका थिए ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “घर पुर्याउने बहानमा जबरजस्ती करणी” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । बूढीगंगा गाउँपालिका–४ मा एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरी गाउँलेले नै प्रहरीको जिम्मा लगाएका छन् । विराटनगरकी १४ वर्षीय किशोरीलाई विश्वकर्मा पुजामा आयोजित नृत्य कार्यक्रम हेरेपछि घर पुर्याईदिने बहानामा तीन जना व्यक्तिले जबरजस्ती करणी गरेका थिए । सँगै नाच हेर्न गएका साथीले नै जबरजस्ती करणी गरेको देखेपछि गाउँलेले नै पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “प्रदेश नं. १ को राजधानी विराटनगरबाहिर लैजान जोड” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । प्रदेश १ को स्थायी राजधानी टुंगो लाग्न नसकिरहेका बेला प्रदेश सांसदहरु असुरक्षा बढेको बताउन थालेका छन् । असोज ४ गते खुर्सीद आलमको हत्या भएसँगै प्रदेश सांसदहरु सशंकित देखिन थालेका हुन् । सामान्य जनता त असुरक्षित भइरहेको समयमा सीमावर्ती क्षेत्रमा राजधानी तोकिनु दुभाग्यपूर्ण हुने उनीहरुको भनाइ छ ।सत्तापक्षीय सांसद सर्वध्वज साँवा सुरक्षाको हिसाबमा विराटनगर चुनौतीपूर्ण रहेकोले इटहरीदेखि उत्तरतिरै राजधानी बनाइनुपर्ने बताउँछन् ।

एक निहत्था जनताको हत्या भइरहने सीमावर्ती क्षेत्रमा सांसदहरू असुरक्षित हुने भएकोले राजधानी सार्नुपर्ने उनको तर्क छ । अन्तर्राष्ट्रिय अभ्यासभन्दा बाहिर गएर सीमावर्ती क्षेत्रमा राजधानी बनाउँदा भोलि सीमा विवादलगायत वैदेशिक हस्तक्षेप हुनसक्ने भएकोले त्यसबाट बँच्नको लागि पनि इटहरीलाई राजधानी बनाउनुपर्ने उनको भनाइ छ ।