धरान । प्रदेश नं १ को नामकरण र राजधानीको मुद्दा टुंगो लगाउन सोमबारदेखि जारी नेकपाको प्रदेश संसदीय दलको बैठक दोस्रो दिन मंगलबार पनि स्थगित भएको छ ।


बुधबार अन्तर प्रदेश समन्वय परिषद बैठक भएकोले नेकपाको संसदीय दलको बैठक १८ गते बिहिबार बिहान पुनः बस्नसक्ने सचेतक बुद्धिबहादुर राजभण्डारीले जानकारी दिए । ‘जम्मा ६५ जना माननीयहरुमध्ये ५६ जनाले धारणा राखिसक्नु भयो, अब केही माननीय र मन्त्री ज्युहरुको बाँकी नै छ,’सचेतक राजभण्डारीले भने,‘समय अभावले बैठक स्थगित भयो, अब १८ गते बिहान बस्न सक्छ । तर, मिति नै तोकिएको छैन ।’ बुधबार प्रदेश नं १ का स्थानीय तहका प्रमुखहरुसँग मुख्यमन्त्रीको अध्यक्षतामा बैठक बस्नेछ ।


संसदीय दलको बैठकमा सांसदहरुले धारणा राख्ने क्रममा राजधानीको बिषयमा मतान्तर देखिएको छ । कसैले विराटनगर, कसैले धरान, गोठगाउँ,धनकुटा, इटहरी, चतरा र सुनसरीकै श्रीलंका टप्पुको पनि राजधानीको लागि प्रस्ताव गरेका छन् । आफ्नो धारणा राख्ने क्रममा यस्ता मतान्तरहरु आउनु स्वभाविक भएको सचेतक राजभण्डारी बताउँछन् । उनले भने,‘अहिले स्वतन्त्ररुपमा आफ्नो विचार राख्नु भएको हो, त्यसैले केही फरक मतहरु आउछ । तर, बैठकले सबैलाई स्वीकार्य हुने गरी राजधानी र नामबारे सहमति जुटाउछ ।’

मिलन विन्दु ‘वृहत विराट क्षेत्र’
नेकपाको संसदीय दलको बैठकमा वक्ता सांसदहरुले राजधानीबारे विविध धारणा र प्रस्तावहरु व्यक्त गरे पनि मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा सहमति जुट्नसक्ने संकेत देखिएको छ । सोमबार वैठक प्रारम्भ हुदा मुख्यमन्त्री राईले वृहत विराटक्षेत्रको अवधारणाबारे प्रष्ट्याउदै कार्यपालिका, व्यवस्थापिका र प्रदेश प्रमुखको कार्यालयलाई सोही अवधारणाले समेट्ने स्थानमा राख्ने संकेत दिएका थिए ।

11 1


बैठक हुनु केही दिन अघिदेखि नै मुख्यमन्त्री राईले विभिन्न जिल्लाका सांसदहरुसँग यो बिषयमा छलफल पनि चलाएका थिए । नेकपाका संसदीय दलका सचेतक राजभण्डारी वृहत विराटक्षेत्र बजेटमा पनि परेकोले सोहीअनुसार राजधानीको सहमति जुट्नसक्ने बताउँछन् । ‘यो त बजेटमा पनि परेको छ, राजधानीको मागलाई पनि यसले समेट्छ,’उनले भने,‘राजधानीको मागकर्ताहरुलाई सम्बोधन हुने गरी निर्णय आउछ ।’ उनले सबै नेता, दलहरु, सांसद र जनतालाई स्वीकार्य हुने गरी राजधानी र नामको बिषयमा सहमति जुट्ने पनि बताए ।


धनकुटामा राजधानी बनाउनुपर्ने माग गर्दै आएका धनकुटाका प्रदेश सांसद निरन राई पनि राजधानीको बिषयमा सहमतिको मिलन विन्दु मुख्यमन्त्रीको अवधारणामा हुनसक्ने बताउँछन् । ‘मेरो त प्रष्टै धारणा छ, धनकुटा भुगोलको हिसाबले केन्द्रमा छ । संघीयता भनेको पहुँचमा नपुगेकोमा पुर्याउने हो, पहाडबाट तराईमा बसाई रोक्ने हो भने पनि धनकुटामा राजधानी लैजानुपर्छ । तराईको उर्बर भुमी जोगाउनको लागि पनि धनकुटालाई राजधानी बनाउनुपर्छ । तत्कालको लागि तराईमा ठिक होला, तर ५० बर्षपछिको लागि उचित हुदैन,’उनी भन्छन्,‘तर, राजधानीको बिषयमा सहमतिको विन्दु मुख्यमन्त्रीबाट आएको वृहत विराटक्षेत्रमा हुनसक्छ ।’ कोशी राजमार्ग ६ लेनको सडक पनि बन्दै गरेकोले वृहत विराटक्षेत्रमा राजधानीको सहमति हुनसक्ने उनले पनि संकेत गरे ।


वृहत विराटक्षेत्रको रिङरोडको अवधारणालाई प्रदेशको बजेटमा परेको छ, जसको अहिले डिपिआर तयार भइरहेको छ । यो अवधारणा अनुसार कार्यपालिका र मुख्यमन्त्री कार्यालय विराटनगरमा हुनेछ भने प्रदेशसभा इटहरीमा आउनेछ । प्रदेश प्रमुखको कार्यालय धरान वा धनकुटामा राख्ने मुख्यमन्त्रीको योजना हो ।