ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “राजधानीका लागि विभक्त” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।

प्रदेश १ को राजधानी कहाँ राख्ने भन्ने मुद्दा पेचिलो बन्दै गएको छ । राजधानीका लागि नागारिकसमेत विभक्त भएका छन् । सांसद्हरु नै फरक –फरक कित्तामा उभिएपछि अहिले राजधानीको मुद्दाले प्रदेशका जनता नै दुई कित्तामा बाँडिदै छन् । विराटनगरबासिले विराटनगरमै स्थायी राजधानी हुनुपर्छ भन्ने तर्क गरिरहेका छन् भने अन्यत्रका भने अन्यत्र नै राजधानी हुनुपर्छ, भन्ने कित्तामा उभिएका छन् । जसले गर्दा राजधानीको मुद्दा थप पेचिलो बनेको हो ।

 

अस्थायी राजधानी रहेको विराटनगरमा उद्योग, व्यापरी, तथा सर्वसाधारण नै स्थायी राजधानी विराटनगर नभए सशक्त आन्दोलनमा उत्रिने चेतवानी दिएका छन् । यता यस्तै प्रकृतिको निर्णय गर्न इटहरी पनि बाध्य छ । इटहरीबासीले पनि राजधानी इटहरी राख्नुपर्ने आवाज उठाउँदै आइरहेको छन् । अहिले सामाजिक सञ्जालमा पनि राजधानी इटहरी, धनकुटा, धरान, गोठगाउँ, विराटगनर हुनुपर्ने आवाजहरु उठ्न थालेका छन् ।


पूर्वी बजार : इटहरीबाट प्रकाशन हुने पूर्वी बजार दैनिकले “उपमेयरले सेतो नम्बर प्लेटलाई रातो बनाइन् ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।


संविधानले स्थानीय सरकारलाई पनि सरकारको एक स्वायत्त तहको रुपमा व्याख्या गरेको छ । केन्द्रीय तहमा हुने व्यवस्था अनुरुप व्यवस्थापिका कार्यपालिकाको काम मात्र होइन उपप्रमुखको संयोजकत्वमा न्यायपालिकाको समेत काम स्थानीय सरकारले गर्ने गर्दछ । तर , स्थानीय न्यायपालिकाकै प्रमुख अर्थात स्थानीय प्रधानन्यायाधीशले नै प्रचलित कानुन मिच्दै सरकारी नम्बर प्लेटको गाडीलाई निजी बनाएकी छिन् ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “कोशी पीडितको समस्या राष्ट्रिय सरोकारको विषय” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।


सुनसरी –४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पूर्व अर्थमन्त्री सांसद ज्ञानेन्द्र बहादुर कार्कीले निर्वाचन क्षेत्रका मतदाताहरु माझ चुनाव अगाडी आफुले कबुल गरेका बाचाहरु अहिले पनि नविर्सेको बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कार्कीले तीन दिनमा रामधुनि नगरपालिका, बराहक्षेत्र नगरपालिकाका जनतासंग गरेको भेटघाटको क्रममा यहाँको मुख्य समस्या आफूले नबिर्सेको बताउँदै ऐलानी जग्गामा बसोबास गरिरहेका जनतालाई ढुकक भएर बस्न आग्रह गरे ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “सरकारको स्वीकृतिबिना स्थानीय तहका विदेश जान नपाउने” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।

स्थानीय तहका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाअध्यक्ष लगायतका पदाधिकारीसहित त्यहाँ कार्यरत कर्मचारीले अबदेखि सरकारसँग पूर्वस्वीकृति नलिई गैरसरकारी संस्थाको खर्चमा विदेश भ्रमण गर्न नपाउने भएका छन्


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “प्रदेशस्तरीय सुरक्षा बैठक” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।


आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरेको छ । चाडपर्व लक्षित सुरक्षा र कालोबजारी नियन्त्रणका लागि छलफल गर्न प्रदेश सरकारले सुरक्षा गोष्ठीको आयोजना गरेको हो । सुरक्षा गोष्ठीमा १४ वटै जिल्लाका प्रमुख अधिकारीहरु सहभागी छन् । साथै मुख्यमन्त्री राईले प्रमुख जिल्ला अधिकारीहरुलाई चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना र कालोबजारी नियन्त्रण गर्न निर्देशन दिएका थिए ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “ क्यान्सरपीडितलाई सहाराको साढे २५ लाख सहयोग” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।

झापा बिर्तामोडको : सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले क्यान्सर रोगीलाई लाखौँ सहयोग गरेको छ ।

बिर्तामोड २ चारपानेमा प्रधान कार्यालय रहेको संस्थाले क्यान्सर भएका सातजना शेयर सदस्यलाई २५ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो । शेयर सदस्यलाई सामान्य रोग लागे ८० प्रतिशतसम्म उपचार खर्च बेहोर्दै आएको सहकारीको ‘जीवन बरदान स्वास्थ्य कार्यक्रम’ अन्तर्गत पीडितलाई रकम वितरण गरिएको सहकारीका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताए ।

क्यान्सरको उपचार गराएका उनीहरुलाई खर्च हेरेर सहयोग गरिएको सहकारीका सचिव एवम् प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले बताए ।