ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “सडक विभागको लापरबाहीले सडक अलपत्र” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
सडक विभाग विराटनगरको चरम लापारबाहीको कारण निर्माणाधीन चतरा वराहक्षेत्र सडक बीचमै अलपत्र बनेको छ । सडक विभागले आर्थिक समस्या देखाउँदै काम बन्द गरेपछि चतराघाटदेखि वराहक्षेत्र मन्दिरसम्मको काम अलपत्र बनेको हो ।

हालसम्म उक्त सडक कालोपत्रे भइसक्नु पर्ने हो । नौं करोडको लगानीमा २०७१ सालमा दुहबीस्थित गीताञ्जली कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो । सम्झौताअनुसार वराहक्षेत्र–१ चतराघाटदेखि वराहक्षेत्रसम्मको ४ किलोमिटर सडक सम्झौता पूरा भए पनि अलपत्र बनेको छ ।


फास्ट दैनिक : धरानबाट प्रकाशन हुने फास्ट दैनिकले “अधिकांश सांसद विराटनगरबाहिर राजधानी हुनुपर्ने पक्षमा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
प्रदेश १ का प्रदेशमा सरकार चलाइरहेको नेकपाका दुई तिहाइ भन्दा धेरै सदस्यहरु विराटनगरभन्दा बाहिर राजधानी लैजानु पर्ने र भूगोललाई प्राथमिकता दिएर नाम राखिनु पर्नेमा सहमति नजिक पुग्न लागेका छन् ।

तीन दिनदेखि विराटनगरमा चलिरहेको सो पार्टीको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरु विराटनगरबाट राजधानी अन्तै लैजानुपर्नेमा एक भएको बुझिएको छ ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “वैज्ञानिक दृष्टिले धरान राजधानी” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
समानुपातिक विकास, भौगोलिक सुगमता, भौतिक पूर्वाधार, ऐतिहासीक प्रशासनिक केन्द्रको दृष्टिकोणले प्रदेश १ राजधानी धरानलाई बनाइनु पर्ने माग गर्दै धरानका ६ वटा राजनितिक दलहरुले बुधबार संयुक्त विज्ञप्ती जारी गरेका छन् ।

प्रदेशका करिब ४५ लाख जनसंख्यलाई यातायात लगायत सुविधाको दृष्टिकोणले पायक पर्ने धरानलाई राजधानी बनाउनु बैज्ञानिक ठहर्ने दाबी गर्दै विज्ञप्तीमा अबैज्ञानिक निर्णयको विरुद्ध धरानले संघर्ष गर्दै आएकोले १ नम्बर प्रदेशवासीको हित नहुने निर्णय भए संघर्ष गर्न बाध्यहुने चेतावनी समेत दिइएको छ ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “गाउँ खालि हुदैं बसाइसराइले” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।

पाँचथरको दक्षिणी क्षेत्रको स्थानीय तह तुम्बेवा गाँउपालिका–१ र २ का अधिकाशं खाली घरको गाँउ बन्दैछ । करीब १० वर्षयता पानी नपरेपछि पानीकै अभावमा मानिस गाँउ छोड्न बाध्य भएका छन् कहिलेकाँही पानी पर्दा बलेसी बग्ने मात्र पर्छ । पाँच वर्षदेखि सो क्षेत्रमा बसाइँसराइ तीव्र देखिएको छ ।

उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “मापसे गरे परीक्षा दिनुपर्ने” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।

मादक पदार्थ सेवन (मापसे) गरी सवारी कुदाउनेलाई कारवाही गर्न मोरङ प्रहरीले नयाँ नियम ल्याएको छ । मापसे गरी सवारी कुदाउने सवारी चालकलाई कारवाही गर्न मोरङ प्रहरीले असोज २३ गतेदखि लागू हुने गरी परीक्षा दिनुपर्ने नियम ल्याएको हो ।

प्रहरीले ल्याएको नयाँ नियम अनुसार मापसे गरी सवारी साधन अनुमतिपत्र लाइसेन्स फिर्ता लिनलाई जरिवाना तिर्न अघि परीक्षा दिनुपर्ने छ । परीक्षामा ८० प्रतिशत उत्तर नमिलाएसम्म जफत गरिएको लाइसेन्स फिर्ता हुने छैन् ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “तस्करीबाट भारत नै फर्किन थाल्यो पेट्रोल” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।

झापा पछिल्लो समय भारतीय बजारमा पेट्रोलियमको मूल्य आकाशिँदा तुलनात्मक रुपमा सस्तो रहेको नेपालबाट तस्करी भएर भारतीय बजारमै जाने क्रम बढेको छ । नेपाल आयल निगमका अनुसार भारत र नेपालमा पेट्रोलियमको मूल्य अन्तर अत्यधिक हुँदा यसरी तस्करी मौलाएको हो ।

निगमका निमित्त प्रबन्ध निर्देशक सुशील भट्टराईका अनुसार पछिल्लोपटक नेपाल र भारतको सीमाक्षेत्रमा पेट्रोलको मूल्य अन्तर प्रतिलिटरमै ३१ रुपैयाँ पुगेको छ भने डिजेलको यस्तो अन्तर ३० रुपैया ँ छ । ‘पारि भारतीय बजारमा पाइने त्यही पेट्रोल नेपाली बजारमा ३१ रुपैयाँ सस्तो छ’, निगमका प्रबन्ध निर्देशक भट्टराई भन्छन्, ‘समयमा मूल्य समायोजनमा ध्यान नदिँदा यो अवस्था आएको हो ।’ करिब ३ महिनाअघि यस्तो मूल्य अन्तर पेट्रोलमा करिब २० र डिजेलमा २४ रुपैयाँ थियो ।

यसबीचमा डलरको विनिमय दर र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्यमा आएको तीव्र वृद्धिले भारतीय बजारमा पेट्रोलियमको भाउ उच्च छ । यसले गर्दा अहिले भारतीय बजारमा पेट्रोलियमको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ ।