धरान : सडक दुर्घटनाबाट अत्यधिक संख्यामा मानिसको मृत्यु भइरहेकोले यसले महामारीको रुप लिएको भन्दै मजदुर नेताले यसलाई न्युनीकरण गर्न सबै पक्ष जिम्मेवार हुन आग्रह गरेका छन् ।
बिहिबार धरानको भानुचोकमा आयोजित यात्रु सहायता कक्ष उद्घाटन समारोहमा बोल्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम राई ज्वालाले संयुक्त राष्ट्रसंघको तथ्यांकले पनि सडक दुर्घटना महामारीकोरुप लिएको बताए । राष्ट्रसंघको तथ्यांक प्रस्तुत गर्दै उनले विश्वमा प्रत्येक २६ सेकेण्डमा एक जनाको सडक दुर्घटनामा मृत्यु भइरहेको छ भने १ दिनमा ३५ सयको मृत्यु र त्यतिकै संख्यामा मानिस घाइते भइरहेको जानकारी दिए । ‘विश्वमा प्रत्येक बर्ष सडक दुर्घटनाबाट १३ लाख मानिसको मृत्यु भइरहेको छ, ५ करोड घाइते हुन्छन् भने ५० लाख अंगभंग र अपांग जीवन बिताउन बाध्य छन् । त्यसैले यो कुनै महामारी रोगभन्दा काम छैन,’नेता राईले भने,‘नेपालको तथ्यांक हेर्दा प्रत्येक दिन सरदर ५ देखि ७ जनाले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् ।’

2 kapuri


सडक दुर्घटनामा चालक मजदुर, प्रहरी, यातायात व्यवसायी र सरकारलाई मात्र दोष देखाएर कोही उम्कन नसकिने नेता राईले बताए । सरोकारवाला र सबै पक्ष जिम्मेवार भए मात्र सडक दुर्घटना न्युनिकरण हुने उनको भनाई थियो । सडक दुर्घटनालाई न्युनिकरण गर्न संगठनले म जिम्मेवार यातायात मजदुर भन्ने नारासहितको चेतनामुलक स्टिकर निकालेको जानकारी दिदै उनले भने,‘५० प्रतिशत बढी दुर्घटना मादक पदार्थ सेवन गरेर चलाउदा भएको छ, त्यसैले चालकहरुले मादक पदार्थ पिएर चलाउदिन भन्ने प्रतिवद्धता गर्नुपर्छ । मोवाइल फोन चलाउदै गाडी चलाउदा ध्यान अन्तै मोडिएर दुर्घटना हुन्छ, त्यसैले म गाडी चलाउदा मोवाइल चलाउदिन भन्ने प्रतिवद्धता गर्नुपर्छ ।’
यातायात मजदुरहरुलाई महिला, बालबालिका, अशक्त र बृद्धबृद्धाहरुलाई सम्मान गर्न, बालश्रम प्रयोग नगर्न, तीब्र गतिमा सवारी नचलाउन, तोकिएको भन्दा बढी भाडा नलिन, सबैसँग सभ्य भाषा प्रयोग गर्न र ट्राफिक नियम पालना गर्ने प्रतिवद्धतासहितको स्टिकर अभियान चलाएको पनि नेता राईले जानकारी दिए । सडक दुर्घटनाको अर्को पाटो सडक क्षमताभन्दा बढी र सडक अनुकुलको सवारीको प्रकृत्ति नहुनु पनि मुख्य कारण रहेको राईले बताए । उनका अनुसार २०७४ बैशाखदेखि २०७५ बैशाखको बीच(एक बर्ष)मा नेपालमा १४ लाख बढी सवारी भित्रिएको थियो । तर, नेपालमा यो समयभित्र १ सय ७९ किलोमिटर मात्र पक्की सडक बन्यो । सवारी आयात र सडक निर्माणकोबीचमा सन्तुलन नमिल्दा पनि सवारी दुर्घटना र जोखिम बढेको उनको भनाई थियो । २०७५ बैशाखसम्म ३२ लाख ३७ हजार ६ सय १४ सवारी नेपालमा भित्रिएको छ । त्यसमध्ये २५ लाख २ पांग्रे साना सवारी भएको पनि राईको भनाई छ ।

1 kapuri


यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद सुवेदीले दुर्घटना हुन नदिन चालक, यातायात मजदुरसँगै यात्रुहरु पनि सचेत हुनुपर्ने बताए । छतमा र गाडीभित्र खादाखाद अवस्थामा यात्रा नगर्न उनले आग्रह गरे । धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेले सडक सुशासनलाई ध्यान दिन अग्रह गरे भने संघीय प्रहरी इकाई धरानका एसएसपी सरदकुमार खत्रीले सामान्य मृत्यु भन्दा पनि दुर्घटनाले मृत्यु हुनेको संख्या बढी रहेको भन्दै ट्राफिक नियम पालना गर्न आग्रह गरे । महिला सञ्जाल धरानकी वरिष्ठ उपाध्यक्ष चेतना श्रेङले सवारी संख्या थप गरेर भएपनि यात्रुहरुलाई सहज यात्राको व्यवस्था गर्न आग्रह गरिन् ।