ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “उद्योगद्वारा कागज–पत्र बुझाउन अटेर” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । मोरङको बूढीगङ्गा गाउँपालिका–३ वाँसवारीमा उद्योगी विकास चौधरीद्वारा सञ्चालित सुरभी पोलिमर्स प्रालिले कागजात बुझाउन अटेर गरेको पाइएको छ ।

विराटनगरस्थित श्रम कार्यालयले एकसाता अघि कागजात बुझाउन पत्राचार गरे पनि आदेशलाई अवज्ञा गरेको पाइएको छ । कागज–पत्र बुझाउँदा कम्पनी र सञ्चालक फस्ने डरले कार्यालयको आदेशलाई अटेर गरेको स्रोतको दावी छ । श्रम कार्यालयको पत्राचारपछि श्रम ऐनले तोकेबमोजिमको तलब देखाउन सञ्चालकले कर्मचारीलाई खाली पानामा हस्ताक्षर गराउन थालेको नाम नछाप्ने शर्तमा एक कर्मचारी बताउँछन् । प्रालिले ‘हाइलाइफ’ व्राण्डको चप्पल उत्पादन गर्दै आइरहेको छ । उद्योगले वषैंदेखि श्रम शोषण गरेको उजुरीका आधारमा श्रम कार्यालयले असोज ८ गते अनुगमन गरेको थियो ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “कांग्रेसको संसदीय दलमा धरानलाई राजधानी बनाउन प्रस्ताव” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । प्रदेश १ को राजधानी र नामकरणको विषयमा केन्द्रित हुँदै प्रतिपक्षी दल नेपाली कांग्रेसले धरानमा राजधानी बनाउन आफूहरु सरकारात्मक भएको संकेत दिएका छन् । संसदीय दलको कार्यालयमा बसेको बैठकमा धरानलाई राजधानी बनाउने विषयमा प्रस्ताव गर्न धराने नेताहरुले सांसदलाई आग्रह गरेका थिए ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “वजार अनुगमन निरन्तर गर्न उपभोक्ताको माग” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।

धरानमा विहीबार स्थानीय सरकार अन्र्तगतको धरान उपमहानगरपालिकाले धरानमा रहेका मासु पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा यहाँ रहेका अधिकाँस मासु पसलहरुले सामान्य मापदण्ड पनि पुरा नगरेको उपमहानगरपालिकाको अनुगमन टोलीले जनाएको छ । उपमहानगरको अनुगमन टोलीले १२ वटा मासु पसल अनुगमन गरेको हो । मासु पसलले इजाजत विना नै आफू खुशी पसल सन्चालन गरेको धरान उपमहानगरपालिकाका वातावरण अधिकृत भेषराज घिमिरेले बताएका छन् ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “इटहरीमा नामकरण बारे छलफल” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।

प्रदेश १ को राजधानी इटहरीलाई बनाउने माग भैरहेको बेला त्यसलाई बल पुर्याउन नागरिक समाज इटहरीले प्रदेश १ को नामकरणको छलफललाई इटहरी केन्द्रित बनाउने भएको छ । समाजले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी नामकरणको विषयमा बृहत छलफल कार्यक्रम आयोजना गर्ने तयारी भैरहेको जनाएको हो ।

प्रदेश १ को नामका विषयमा विभिन्न नामहरु चर्चामा आइरहेको समयमा सबैको प्रतिनिधित्व गर्न सक्ने गरी नामकरण गर्न सकियोस भनेर छलफल गर्न लागिएको समाजले जनाएको छ । छलफल शनिबार आयोजना गर्न लागिएको हो । छलफल नामकरणका विषयमा विभिन्न पक्षधार प्रस्तोताहरुले अवधारणपत्र प्रस्तुत गर्नेछन् । नामकरणका विषयमा साझा नामकरणको अवधारण तयार गर्ने प्रयास स्वरुप विभिन्न नामका पक्षधार विच बहस गरिने बताएइको छ ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “राजधानी माग्दै ६३ संस्थाको ज्ञापन” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । विराटनगरलाई स्थायी राजधानी तोक्न माग गर्दै बिहीबार ६३ वटा संघसंस्थाहरुले सभामुख प्रदपीकुमार भण्डारीमाफर्त प्रदेश १ का मुख्यमन्त्री र प्रधानामन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

मुख्यमन्त्री शेरधन राईलाई नै भेटेर ज्ञापनपत्र बुझाउने तीनदिनको प्रयास विफल भएपछि उनीहरुले सभामुख भण्डारी र प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “बजारमा छ्यापछ्याप्ती सिक्किमे मदिरा” शीर्षकको समाचारलाई मुल्य समाचारकको रुपमा छापेको छ ।

प्रहरीले आइतबार बिहान इलामको सूर्योदय नगरपालिका तीनघरेबाट ३६ बोतल सिक्किमे मक्स नामक मदिरा बरामद गर्यो । बिर्तामोडबाट इलाम जाँदै गरेको बोलेरो जिपमा सुरक्षा जाँच गर्दा मदिरा भएको हो । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाको टोलीले केही महिनाअघि पूर्व–पश्चिम राजमार्गअन्तर्गत चारआली सडक खण्डबाट यही मदिरा ३० बोतल बरामद गरेको थियो । उक्त मदिरा पशुपतिनगरबाट आएको बस जाँच गर्दा दुईवटा बोरामा प्याक गरिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।

भारतसँग सिमाना जोडिएका पूर्वी जिल्लाबाट प्रहरीले बर्सेनि यो मदिरा बरामद गर्दै आएको छ । तर, ताप्लेजुङ, पाँचथर, इलाम र झापाका खुला सिमानाबाट यो मदिरा भित्रिने क्रम भने अझै रोकिएको छैन ।