इटहरी : बजार अनुगमन गर्न गएको टोली नै के बिक्री गर्न पाउने, के नपाउने भन्ने बारेमा अन्यौल पर्दा बजार अनुगमन गर्न पुगेको टोलीले जफत गरी लगेको सामान फिर्ता गर्नुपरेको छ ।
स्थानीय सरकारको नेतृत्वमा बजार अनुगमनमा निस्किएको टोलीले इटहरीको एक पसलबाट प्लाष्टिकका गिलासहरु विक्री गर्न नपाउने भन्दै जफत गरेको थियो । तर केही समयमा पछि बिक्री गर्न पाउने तर तातो नहाली बिक्री गर्नु भन्दै अनुगमन टोलीले नै फिर्ता गरेको हो । स्थानीय एवं व्यापारीहरु अचुवाको तालमा अनुगमन गरेको भन्दै उपमहानगर नेतृत्वको कडा आलोचना गरिरहेका छन् । चाडपर्वको समयमा बजार अनियन्त्रित नहोस भनेर इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा टोली बजार अनुगमनमा निस्किएको थियो ।
अनुगमन टोलीले बजार अनुगमनका क्रममा बिक्री गर्न नपाउने भन्दै पुरानो हेल्थ पोष्ट लाइनस्थित एक पसलमा बिक्रीका लागि राखेको प्लाष्टिक गिलास जफत गरेको थियो । ‘पहिला बेच्न पाउदैन भन्दै गिलास उठाएर लग्यो, केही समय पछि बिक्री गर्न पाउने भन्दै गिलास फिर्ता भयो । खै, यो कस्तो खाले अनुगमन हो हामीले त बुझेनौ,’ एक व्यापारीले भने । गिलास लगिएका पसलका व्यापारीले ठुलो संख्यामा अनुगमनका लागि आएकाहरुको कारण व्यापार गर्नसमेत समस्या भएको बताए । बजार अनुगमनका क्रममा सहभागी उपमहानगरपालिकाका नगरप्रहरीहरु आफै बिज्ञ झै बिक्रीका लागि राखिएका सामानहरुको गुणस्तर हेरिरेहका देखिन्थे ।
चाडपर्वको समयमा मात्र अनुगमन हुने भन्दै सर्वसाधारणहरुले पनि आलोचना गरिरहेका छन् । उपप्रमुख गौतम भने नियमित र प्रभावकारी अनुगमन थालिएको भन्दै बचाउ गरिन् । बजार अनुगमनको अवस्था हेर्दा भने प्रभावकारी नभई देखाउनका लागि मात्र अनुगमन गरिएको जस्तो देखिन्थ्यो । अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा, घरेलु तथा साना उद्योग कार्यलय सुनसरी, इटहरी उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय सुनसरी लगायतका सरकारी निकायका प्रतिनिधिहरु रहेका थिए ।