इटहरी  : नजिकिदै आएको हिन्दु नेपालीहरूको चाड दशैं, तिहार तथा छैठलाई मध्यनजर गर्दै जिल्ला प्रसाशन कार्यालय सुनसरीले नयाँ सुरक्षा रणनीति(योजना) बनाएको छ ।
सुनसरीको भुटाहामा भएको खुर्शिद हत्याकाण्डलाई समेत मध्यनजर गर्दै चाडपर्वमा भयरहित वातावरण बनाउन प्रशासनले नयाँ सुरक्षा योजना बनाएको हो । हालै जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रजिअ प्रेमप्रशास उप्रेतीको नेतृत्वमा बसेको सुरक्षा प्रमुखहरूको बैठकले गाँउदेखि सहरसम्मलाई सुरक्षालाई कडा गर्ने भएको हो । जिल्लामा हुने अपराधिक गतिविधिहरूलाई ध्यान दिदै सिमा क्षेत्रहरूमा दैनिक प्रहरीको संख्या बढाएर निगरानी थाल्ने, चोरी तस्करी जस्ता कृयाकलापलाई बन्देज गर्ने र सिमाबाट नेपाल प्रवेश गरेका वा शंकास्पद ब्याक्तिहरूलाई अनुशन्धान थाल्ने भएको छ ।
सिमा क्षेत्रमा हुने गरेका अपराधिक गतिविधिलाई सहजै नियन्त्रण गर्न नेपाल र भारत दुवैको शुरक्षा निकायहरूसँग सहकार्य गरेर चाडपर्वको समयमा मात्र नभइ अन्य समयकालागि पनि संवेदनसिल मानेर सुरक्षाको प्रबन्ध मिलाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले मातहतमा रहेका सम्पुर्ण प्रहरी कार्यालयहरूलाई सुरक्षा संवेदनसिलताप्रति सजक रहन निर्देशन दिइसकेको र शंकासपद ब्यक्तिहरूलाई निगरानीमा राख्नसमेत आदेश दिइएको प्रजिअ उप्रेतीले बताए । मातहतका सबै प्रहरी कार्यालयहरूमा निरन्तर रात्री गस्ति, चेकजाँच र निगरानीकालागि पत्रचार गरिसकेको प्रजिअ उप्रेतीले बताए । उनले अहिले जिल्लामा प्रहरीको संख्या अतिनै न्युन रहेकोले भने जस्तो शुरक्षाको प्रबन्ध मिलाउन कठिनाइ भएकोले चाडपर्वमा रमाइलोसँगै आफ्नो पनि सुरक्षालाई ध्यानमा राख्न सम्पुर्ण जिल्लाबासीहरूमा अनुरोध समेत गरेका छन ।

कस्तो छ जिल्लाको सुरक्षा स्थिति ?
प्रदेश नं एकको सबैभन्दा बढी अपराधिक गतिविधि हुने र शुरक्षाको दृस्टिकोणले पनि अतिनै संवेदनसिल जिल्लाको रूपमा पहिलो सुचिमा सुनसरी पर्छ । बढी जसो चोरी, अपहरण, बलात्कार र हत्या जस्ता जघन्य अपराधकै कारण पछिल्लो समय जिल्लालाई संवेदनसिलको रूपमा हेरीदै आएको छ । प्रदेश एकको प्रहरी कार्यालयले पनि सुनसरीलाई बिशेष निगरानीमा राखेर काम गरिरहेको जनाएको छ ।
प्रहरी संख्यामा कमि हुनु र सुरक्षाकै घेरामा दैनिक अपराधिक गतिविधि भइरहनुले प्रहरी विवादमा तानिदै आएको छ । भुटाहामा भएको दिउसै हत्या काण्डले पनि प्रहरी आलोचित बनेको छ । खुर्सिद हत्याकाण्डको बिषयमा थप प्रहरी परिचालन गरी व्यापक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सिमामा ९ वटा चेकपोस्ट
गृह मन्त्रालयको निर्देशनमा भारतसँग जोडिएको जिल्लाका सिमानाहरूको आसपास नेपालका ९ वटा सुरक्षा चेकपोस्ट स्थापना गरिएको छ । तर त्यहा पनि प्रहरी संख्या कमि हुदा भने जस्तो सुरक्षाको प्रबन्ध मिलाउन समस्या भएको सशस्त्र प्रहरी बलले जनाएको छ । सिमा जोडिएका नाकाहरू अन्तरगत धेरैजसो चेक पोस्टहरूमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको हुन्छ ।
यद्यपी, खटाइएको संख्या भन्दा कम प्रहरीको उपस्थितिले सुरक्षा जस्तो संवेदनसिल क्षेत्रमा बाधा उत्पन्न भइरहेको छ । अहिले सुनसरीको भाण्टावारी, जमुवा, लौकही, घुस्की, बसन्तपुर, कप्तानगञ्ज, रामनगर भुटाहा, अमडुवा र साहेबगञ्जमा बोर्डर आउट पोष्टहरु रहेका छन ।